Logo
Logo

ठूलीभेरीमा खसेको टिपर भेटियो, भेटिएन मान्छे


504
Shares

हुम्ला । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका १४ पिपलचौरस्थित भेरी करिडोरअन्तर्गतको सडकखण्डबाट ठूलीभेरी नदिमा खसेको टिपर फेला परेको छ। टिपरसँगै खसेका तीन जना मान्छे भने अझैसम्म फेला परेका छैनन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार साँझ ठूलीभेरी नदिमा खसेको यति बिल्डर्स प्रालिको टिपर घटना स्थलभन्दा करिब चार सय मिटर तल नदिमै फेला परेको छ। टिपरमा रहेका तीन जनाको अवस्था भने अझैसम्म पत्ता लागेको छैन।

उनीहरू नदिमै बेपत्ता भएको अनुमान रहेको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रमेश बिष्टसहितको टोली परिचालन भएको छ। अहिले नदीमा देखिएको टिपर निकाल्नका साथै बेपत्ताहरूको खोजी कार्य भईरहेको छ।

टिपर जाजरकोट पट्टीको भागमा फेला परेको हो। आठबिसकोट नगरपालिका ११ चिसापानीबाट वडा नम्वर १४ को छेपारेतर्फ आँउदै गरेको यति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिपर ठूलीभेरी नदीमा खस्दा चालक सहित तीन जना बेपत्ता भएका थिए।

बेपत्ता हुनेमा टिपर चालक दाङका ३५ वर्षीय मनिराम चौधरी, यति विल्डर्सका जेसिबि चालक रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–३ का धनबिर बिक र हेल्पर रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ का हरि बिक रहेको प्रहरीले जनाएको छ। प्रहरी, यति बिल्डर्सको कर्मचारी टोली, स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्