काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीका केही अभिव्यक्तिलाई ‘हावादारी’ भन्दै कडा आलोचना गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको गलत अभिव्यक्तिमा सभामुखबाट रुलिङ हुनुपर्ने माग गरे ।

साहले भने, ‘प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर झुटको खेती गर्नु, समाजलाई अन्धकारमा धकेल्नु र विनाशतिर लानु स्वीकार्य छैन । सभामुखले यसलाई सच्याउन रुलिङ गर्नुपर्छ ।’ उनले ओलीले श्रीराम चितवनमा जन्मिएको र चतरा विश्वामित्रको आश्रम भएको दाबीप्रति आपत्ति जनाए ।
‘नेपालका असली वारिस आदिवासी जनजाति हुन् कि क्षेत्री९बाहुन रु यदि थारु र किराँती आदिवासी हुन् भने क्षेत्री-बाहुनको कथा यहाँ किन घुसाइँदै छ ?’ उनले प्रश्न गरे । साहले रामायणलाई क्षेत्री-बाहुनको कथा भन्दै नेपालको आदिवासी इतिहासलाई सम्मान गर्नुपर्ने बताए । उनले नेपाल कहिल्यै गुलाम नभएको गर्व आदिवासी जनजातिकै कारण भएको दाबी गरे ।
‘इतिहासको सत्य उजागर गर्नुको सट्टा गलत कुराले समाजलाई गुमराह बनाउनु हुँदैन,’उनले भने । उनले किरातीको शासन र स्वतन्त्रताको इतिहास खोतल्न सुझाए ।साहले ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग रामको जन्मस्थानबारे पुरातात्त्विक प्रमाणसहित कुरा गर्न चुनौती दिए ।
उनले आफूले ओलीकै मन्त्रिपरिषद्मा रहँदा सिता जननीलाई क्यालेन्डरमा राख्ने प्रयास गरेको तर ओलीले अस्वीकार गरेको स्मरण गरे । ‘प्रधानमन्त्रीले सत्य बोल्नुपर्छ, गलत कुराले देशलाई गलत दिशामा लान्छ’ उनले भने । साहले सभामुखमार्फत प्रधानमन्त्रीका झुटा अभिव्यक्ति सच्याउन र तथ्यमा आधारित छलफल गर्न माग गरे ।














