काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिने बताएका छन् ।

शुक्रवार सहिद स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष स्व. ढुण्डीराज शास्त्रीको ४५औँ पुण्यतिथिको स्मृतिमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान’ विषयक विचार गोष्ठीमा बोल्दै उनले संविधान बहुलवादमा आधारित रहेको र समयको मागअनुसार संशोधन गर्न सकिने विचार व्यक्त गरे ।
देउवाले भने, ‘नेपालको संविधान बहुलवादमा आधारित छ। अहिले विभिन्न क्षेत्रबाट संशोधनको माग उठिरहेको छ, जस्तै राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको व्यवस्थालाई लिएर। तसर्थ, आवश्यकताअनुसार संविधान संशोधन गरिनेछ ।’
देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने एमालेको प्रस्तावमा कांग्रेस सहमत भएको बताए । उनले सबै दलले प्रजातान्त्रिक समाजवादको अभ्यास गरेको र कांग्रेस यसमा बलियो हुन बाँकी रहेको जिकिर गरे । उनले कुनै पनि दलको बहुमत नआउने अवस्थामा अन्य दलसँग लचिलो भएर सहकार्य गर्नुपर्ने बाध्यता रहेको बताए ।
उनले चुनावका बेला नेपाल कम्युनिष्ट पार्टीजस्ता दलहरू फरक देखिए पनि व्यवहारमा प्रजातान्त्रिक शक्तिहरूले सहकार्य गर्दै आएको बताए । साथै, स्व.शास्त्रीले नेपाली कांग्रेस, देश र जनताका लागि गरेको योगदानको प्रशंसा गर्दै उनको स्मरण गरे ।














