काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले भागबन्डा गरी नेपाल रेडक्रस सोसाइटीमा नयाँ तदर्थ समिति गठन गरेका छन् । कांग्रेस निकट बिनोद शर्माको नेतृत्वमा गठित ९ सदस्यीय समितिमा कांग्रेसबाट पाँच र एमालेबाट चार जना समावेश छन् ।

शर्माले यसअघि रेडक्रसको उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । नवगठित समितिको महामन्त्रीमा एमाले निकट मीनबहादुर मल्ल नियुक्त भएका छन् । अन्य सदस्यहरूमा हरि बराल, लोकदर्शन श्रेष्ठ, कान्तिराज भण्डारी, सूर्यकुमारी श्रेष्ठ, हरि दर्शन श्रेष्ठ, हेमराज ओझा र गंगाधर अधिकारी छन् । यीमध्ये हरि बराल, मीनबहादुर मल्ल, कान्तिराज भण्डारी र सूर्यकुमारी श्रेष्ठ एमाले निकट छन् ।
समितिलाई तीन महिनाभित्र विधान संशोधन गरी निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ । नेपाल रेडक्रस सोसाइटी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालित परोपकारी संस्था हो । मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरी पुरानो तदर्थ समिति विघटन गरेर नयाँ समिति गठन गरेको हो ।
संस्थाभित्रको आन्तरिक विवादका कारण लामो समयदेखि निर्वाचित कार्यसमिति गठन हुन सकेको छैन । अन्तर्राष्ट्रिय रेडक्रस महासंघ ९आइएफआरसी० ले दलगत भागबन्डाको आधारमा गठित तदर्थ समितिका पाँच वरिष्ठ पदाधिकारी-सुदर्शन नेपाल, भूपतिलाल श्रेष्ठ, बिनोद बस्नेत, मनोज थापा र नारायण तिमिल्सिनालाई निलम्बन गरेको थियो ।
सुदर्शन नेपालको नेतृत्वमा रहेको अघिल्लो तदर्थ समितिले पनि निर्वाचित समिति गठन गर्न सकेन । यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नेत्र तिम्सिनालाई तदर्थ समितिको अध्यक्ष बनाइएको थियो भने शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सुदर्शन नेपाललाई नेतृत्व दिइएको थियो । तर, दुवै नेतृत्वले निर्वाचित समिति गठन गर्न असफल भए । सञ्जीव थापा अध्यक्ष रहँदादेखि नै संस्थामा निर्वाचित समिति बन्न सकेको छैन । थापामाथि आर्थिक अनियमितताको आरोप लागेपछि ओली नेतृत्वको सरकारले उनलाई पदबाट हटाएको थियो ।














