हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कांग्रेसका चार मन्त्रीलाई बर्खास्त गरेका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, पर्यटनमन्त्री विमल ठकुरी र सहकारीमन्त्री मधुकुमार श्रेष्ठलाई मुख्यमन्त्री लामाले बर्खास्त गरेका हुन् ।

यी चारै जनाले मन्त्रीहरूले शुक्रबार दिउँसो राजीनामा बुझाएका थिए । उनीहरुलाई शुक्रबार बेलुका नै मख्यमन्त्रीले बर्खास्त गरेका हुन् ।
उनीहरुले प्रत्यक्ष रूपमा भेट नभएको भन्दै मुख्यमन्त्रीसँग ह्वाट्सएपमार्फत राजीनामा बुझाएका थिए । मुख्यमन्त्री लामाले शुक्रबार बेलुका नै ती मन्त्रीहरूलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेको कांग्रेसको बागमती प्रदेश दल उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए ।
उनले उनीहरुले मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव गरेकाले अनुशासनको कारबाहीस्वरूप उहाँहरूलाई बर्खास्त गरिएको बताए । शुक्रबार कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका सांसद इन्द्र बानियाँलाई संसदीय दल नेता बनाउन ३७ मध्ये २१ सांसदले हस्ताक्षर गरेका थिए ।
बागमतीमा लामा र बानियाँबिच आधा आधा कार्यकाल मुख्यमन्त्री बन्ने सहमति भएको संस्थापन इतर पक्षका सांसदहरूको दाबी छ । तर, सहमति कार्यान्वयन गर्ने समयमा मुख्यमन्त्री लामा सम्पर्कविहीन भएको भनेर चार मन्त्रीसहित २१ जनाले उनीविरूद्ध हस्ताक्षर गरेका थिए । उनीहरूले बानियाँलाई दल नेता बनाएर मुख्यमन्त्री फेर्ने तयारी गरेका छन् ।
२०७९ पुस १३ गते भएको संसदीय दल नेता निर्वाचनमा हेटौंडाका बानियाँलाई ५ मतान्तरले हराउँदै लामा संसदीय दल नेता निर्वाचित भएका थिए । बानियाँले १६ मत ल्याएका थिए भने लामाले २१ मत ल्याएका थिए ।
बानियाँ र लामा त्यसबेला सभापति शेरबहादुर देउवानिकट थिए । तर, संसदीय दल नेतामा समर्थन नपाउने अवस्था बनेपछि बानियाँले संस्थापनइतर समूहको साथ पाएका थिए । तर उनले जित्न सकेनन् । त्यसबेला उनलाई नेता शेखर कोइराला र महामन्त्री गगन थापाले साथ दिएका थिए ।
अहिले बानियाँलाई संसदीय दल नेता बनाउन हस्ताक्षर गर्ने सांसदहरू सभापति देउवा, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री प्रकाशमान सिंहनिकट सांसदहरू हुन् ।














