Logo
Logo

ओली–प्रचण्ड वीन–वीन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ९ भदौ । कोरोना महामारीका समयमा बल्झिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद तत्कालका लागि थामथुम भएको छ । यसले फुटको संघारमा पुगिसकेको पार्टी जोगिएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भद्र सहमति गरेर विवाद समाधानको खाका तयार गरिसकेका छन् । त्यसका लागि उनीहरुले छ सदस्यीय कार्यदलको सुझाव समेत लिइसकेका छन् । अब उक्त कार्यदलको प्रस्ताव सचिवालयबाट अनुमोदन गरेपछि स्थायी कमिटीमा पुग्नेछ । स्थायी कमिटीले पारित गरेपछि कार्यदलको ‘रोडम्याप’ बमोजिम सरकार र पार्टी हिँड्नुपर्ने छ । प्रधानमन्त्री ओलीले पार्टीभित्रको समस्या पाँचै दिनमा समाधान हुन्छ भनेर एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिएका थिए । नभन्दै विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा साउन ३० गते कार्यदल गठन भएको थियो । उक्त कार्यदलले ६ दिन अर्थात् गत भदौ ६ गते आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बालुवाटारमा बुझाएको छ ।

प्रचण्डले दुईपटक ‘ब्याक’ भएर कम्युनिस्ट पार्टीको एकतालाई जोगाए । राजनीतिक स्थिरतातर्फ देश जानसक्ने खतरालाई समेट टार्न सके । ओलीले सत्ता छाड्नुपरे पार्टी फुटाउन सम्म पछि नपर्ने र संकटकाल समेत लगाइदिने धम्कीका कारण डराएको नभई पार्टी एकता जोगाउनका लागि यसपटक प्रचण्डले परिपक्व राजनीतिज्ञको चरित्र प्रदर्शन गरेका छन् ।

महासचिव पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जर्नादन शर्मा, पम्फा भुषाल रहेको कार्यदलले नेकपाको आन्तरिक एकतालाई प्राथमिकतामा राखेर सुझाव दिएको छ । पार्टीको एकता महाधिवेशन केन्द्रीय कमिटीले तोकेबमोजिम चैत अन्तिम साताभित्र गर्ने, विधि र पद्धतिमा रहेर सरकार र पार्टी सञ्चालन गर्ने, प्रधामन्त्री केपी शर्मा ओलीले पाँचै वर्ष सरकारको नेतृत्व गर्ने र अध्यक्ष प्रचण्डले पार्टीको सम्पूर्ण जिम्मेवारी लिनेदेखि मन्त्रिमण्डल पुनर्गठनको विषय पनि समावेश छन् । कार्यदलको प्रतिवेदनअनुसार अब मन्त्रिमण्डल पुनर्गठन गर्दा पनि पार्टीले बनाएको मापदण्डका आधारमा हुनेछ । अलोकप्रिय र भ्रष्ट मन्त्रीलाई बिदाइ गर्ने तयारी भइरहेको छ ।

विगतमा नेकपा एक हुँदा पनि ओली र प्रचण्डले भद्र सहमति गरेका थिए । जसअनुसार सरकारको नेतृत्व आधाआधा समय गर्ने भन्ने थियो । यसको खुलासा स्वयं प्रचण्डले गरेका थिए । पछि प्रचण्ड भद्र सहमतिबाट पछि हटेर ओलीलाई पूरा कार्यकाल सरकार सञ्चालन गर्न दिन सहमत भए । उनले कम्युनिस्ट पार्टीको एकता र राजनीतिक स्थिरताका लागि उदार छाति देखाएका थिए । तर, ओलीले यसलाई कमजोर ठान्दै प्रचण्डलगायत पार्टीका प्रभावशाली नेताहरुलाई पेलेर जाने नीति लिए । ओलीको हठले पार्टीको आन्तरिक एकता नै खलबलिन पुग्यो । ओली र प्रचण्डबीच संवादहीनताको अवस्था आयो र धन्न पार्टी फुटबाट जोगियो । यसका लागि पनि प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले त्याग देखाए । उनीहरु ओलीको प्रधानमन्त्री र अध्यक्षबाट राजीनामाको अडानबाट ‘ब्याक’ भए । ओली त पार्टी फुटाउने तयारीमा पुगिसकेका थिए । यसका लागि उनले संसदको अधिवेशन अन्त गरी अध्यादेश समेत ल्याउने तयारी गरेका थिए । ओलीले चाल्नसक्ने आत्मघाती कदमले पर्नसक्ने दुर्घटनालाई दृष्टिगत गरी प्रचण्डले सुझबुझका साथ परिपक्वता प्रदर्शन गरे । एक कदम पछि हटेर पार्टीलाई फुटबाट जोगाए ।

प्रचण्डले देखाएको उदारता र लचकतालाई ओलीले फेरि पनि कमजोर ठाने भने चाहिं दुर्घटनालाई अब कसैले टार्न सक्ने छैन । प्रचण्डले दुईपटक ‘ब्याक’ भएर कम्युनिस्ट पार्टीको एकतालाई जोगाए । राजनीतिक स्थिरतातर्फ देश जानसक्ने खतरालाई समेट टार्न सके । ओलीले सत्ता छाड्नुपरे पार्टी फुटाउन सम्म पछि नपर्ने र संकटकाल समेत लगाइदिने धम्कीका कारण डराएको नभई पार्टी एकता जोगाउनका लागि यसपटक प्रचण्डले परिपक्व राजनीतिज्ञको चरित्र प्रदर्शन गरेका छन् । यसले उनको उचाई झन् बढेको छ । अब नेकपाको विवाद समाधानका लागि बनेको कार्यदलको सुझाव दुवै अध्यक्षको हातमा छ । यसलाई केही परिमार्जन गरी विधिसम्मत तरिकाले पार्टीमा छलफल गरी अन्तिम टुंगो लगाइने भएको छ । सचिवालय बसेर यसको अनुमोदन समेत हुनेछ । यसैबाट नेकपा अझ विधिसम्मत तरिकाले चल्ने सन्देश प्रवाह हुनसक्छ । कम्युनिस्ट पार्टी एउटा नेताको भरमा चल्दैन बरु पार्टी कमिटीको निर्णय बमोजिम सामुहित निर्णयबाट चल्ने गर्छ । यस्तो पद्धति र प्रणाली विकास गर्न यसपटक कार्यदलको सुझाव पारित गर्नेदेखि कार्यान्वयन गर्नेसम्मका बखत हुने निर्णय आधार बन्न सक्ने अपेक्षा गरिएको छ ।

नेकपा एकतापछिको दुई वर्ष बितिसक्दा अध्यक्ष केपी शर्मा ओलीका भुमिकाहरु विवादमा परिरहे । प्रधानमन्त्री नै सर्वेसर्वा हुन् भन्ने हिसाबले एकलौटी ढंगले चल्न खोजे । यसले नेकपा पार्टीभन्दा व्यक्ति प्रधान बन्दै जान थाल्यो । पार्टीभित्र अनुशासनहीनता र अराजकता बढ्यो । हामी भन्दा म भन्ने भावनाले विकास हुने ठाउँ पायो । माक्र्सवाद र लेनिनवादको सिद्धान्तबाट पार्टी विचलित हुने खतरा बढ्यो । पार्टी कार्यकर्तासम्म नकारात्मक सन्देशहरु प्रवाह भइरह्यो । ओलीले हरेक नियुक्ति र निर्णयहरुमा पार्टीलाई बेवास्ता गर्न थाले । वन म्यान शोको शैलीमा जताततै एकलौटी गतिविधि चलाउँदा पार्टी कमजोर हुँदै गयो । यतिसम्मकी उनले पार्टीभित्र आफ्नो गतिविधिको विरोध गर्नेलाई अप्ठ्यारोमा पार्ने सम्मका कार्य गरे । टकरावको स्थिति पैदा भयो । यस्तो अवस्थाबाट पार्टीलाई जोगाउन यस कार्यदलले महत्वपूर्ण सुझाव दिएका छन् । ती सुझावहरु ठिक ढंगले कार्यान्वयन हुने हो भने नेकपा एकता प्रक्रिया पनि सहजै ढंगले टुंगिने छ ।

प्रतिक्रिया दिनुहोस्