Logo
Logo

एसपीको स्वार्थले तनहुँ लाइसेन्समा चलखेल


16.1k
Shares

दमौली । पछिल्ला दिनमा यातायात कार्यालयहरु एकपछि अर्को खुलिरहेका छन् । सरकारले सेवाग्राहीलाई सहजरुपमा सवारी अनुमतिपत्र प्रदान गर्न यातायात कार्यालयहरु खोलेको हो । यातायात कार्यालयले प्रयोगात्मक परीक्षा संचालन गर्नका लागि ड्राइभिङ सेन्टरको जग्गा प्रयोग गर्ने गरेको छ ।

तनहुँका एसपी वीरेन्द्र शाही

तनहुँमा बलबहादुर शाही नामका ब्यक्तिको बिमलनगरमा ड्राइभिङ सेन्टर छ । यातायात कार्यालयले त्यहीँ ट्रायल परीक्षा संचालन गरिरहेको छ । एउटामात्र ट्रायल सेन्टर भएकाले प्रतिस्पर्धा नगराई शाहीको सेन्टरबाट ट्रायल हुने गरेको छ । बन्दीपुर गाउँपालिका वडा नम्बर १ रिमाल्नीमा रविन अधिकारीले सबै प्रक्रिया पूरा गरी निर्माण गर्न लागेको ड्राइभिङ सेन्टर बलबहादुर शाहीले प्रहरीमा बेनामी उजुरी हालेर रोक्न लगाएको आरोप छ ।

अर्को ड्राइभिङ सेन्टर आउनै नदिन खेल शाहीले जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वीरेन्द्र शाहीसँग मिलेर खेलेको आरोप छ । यातायात कार्यालय तनहँुले यही भदौमा ट्रायल सेन्टर छनोटको टेण्डर गर्न लागेको छ । प्रतिस्पर्धा गराएर ट्रायल सेन्टर छनोट गर्नुपर्ने हुन्छ । भदौसम्म रिमाल्नीमा ट्रायल सेन्टर निर्माण हुनै नदिने खेलमा शाहीले प्रहरीको दुरुपयोग गरेको आरोप छ ।

अधिकारीले ड्राइभिङ सेन्टर संचालन गर्न खोज्दा पनि शाहीको बेनामी उजुरीकै भरमा हचुवाका आधारमा निर्माण गर्न नै प्रहरीले रोकिदिएको छ । आनाको २ लाख भन्दा बढी मूल्य पर्ने ५ रोपनी जग्गा यातायात कार्यालयलाई दान दिएका रविन अधिकारीले बाँकी २० रोपनी जग्गामा ड्राइभिङ सेन्टर संचालन गर्नका लागि निर्माण गर्न खोज्दा रोकिएको छ ।

ड्राइभिङ सेन्टर निर्माणका लागि माटो सम्याउन स्काभेटर लान नदिएपछि निर्माण अवरुद्ध भएको छ । स्काभेटर लैजानासाथ बलबहादुरकै इशारामा प्रहरी खटाएर रोक्ने गरिएको छ । बर्षायाममा स्काभेटर प्रयोग गर्दा पहिरो जान सक्छ भनेर ड्राइभिङ सेन्टर निर्माण रोकिएको छ । उक्त ठाउँमा पहिरो जाने अवस्था नै नभएको स्थानीयको भनाइ छ ।

अर्को ड्राइभिङ सेन्टर संचालन हुँदा बलबहादुर शाहीको एकाधिकार नहुने र टेण्डरमा प्रतिस्पर्धा हुँदा रविन अधिकारीको संस्थाले पाउन सक्ने भएपछि प्रहरीलाई प्रयोग गरी रिमाल्नीमा निर्माण नै रोक्न खोजेको आरोप छ ।

त्यसैगरी प्रहरीको आडमा तनहुँमा मापदण्डबिपरीत नदी दोहन हुँदैआएको छ । क्रसर संचालकहरुले नदी दोहनमात्र होइन,नदी र खानीबाट बालुवा र ढुंगा दोहन गरी तिर्नुपर्ने कर समेत छली गर्दैआएका छन् । क्रसर संचालक बलबहादुर शाहीले जिल्ला प्रशासन कार्यालय तनहुँका एसपी वीरेन्द्र शाहीसँगको निकटता देखाएर स्थानीय तहलाई तिर्नुपर्ने करसमेत छली गर्ने गरेको आरोप छ ।

केही दिनअघि ब्यास नगरपालिका वडा नम्बर १३ बेलबासमा स्थानीयले भ्याटबिल बिनाका बालुवा, ढुंगा लोड भएका बलबहादुर शाही र पुष्प खनालका टिपर रोकेर प्रहरीलाई बोलाएका थिए । स्थानीयले घेराउ गरी रोकेका शाही र खनालका ट्याक्टर र टिपरको भ्याटबिल नभए पनि प्रहरीले भएको भन्दै छाडिदिएको थियो । तर बलबहादुर शाहीको इशारामा भ्याटबिल काटेका ब्यवसायीका ट्याक्टर र टिपरसमेत घुमुवा असई सन्त रिमालले बरामद गरी दुःख दिएको गुनासो प्राप्त भएको छ ।

मादी नदीको बालुवा, गिटी मापदण्डबिपरीत उत्खनन गर्दैआएका बलबहादुर शाहीले रोयल्टीसमेत नतिरी टिपरका टिपर बिक्री गर्ने गरेको आरोप छ ।

ठेकेदार बलबहादुर शाहीले मादी नदीमा मापदण्डबिपरीत स्काभेटर प्रयोग गरी निकालिएको गिटी–बालुवा र ढुंगा दैनिक दसौं टिपरमा ओसारपसार गर्दैआएका छन् ।

मादी नदीबाट १६ लाख घनमिटर मात्र नदीजन्य पदार्थ निकाल्न पाउने भए पनि प्रहरीको सेटिङमा त्योभन्दा धेरै बढी उत्खनन गरी भावी दिनमा प्राकृतिक विपत्ति निम्त्याउने कार्य भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी वीरेन्द्र शाहीले खटाएका विवादित असई सन्त रिमालले नदी दोहन गर्ने बलबहादुर शाहीदेखि जुवा खेल्ने खेलाउनेहरुसँग दररेट असुली गर्दैआएका छन् । असई रिमाल जिल्लाभर एसपीको घुमुवाको रुपमा परिचालित छन् । तनहुँ कारागारमा खटाइएका सहायक हवल्दार भरत भुजेल पनि एसपीको घुमुवाका रुपमा असुलीमा परिचालित छन् । विगतमा रिमाललाई घुमुवा राखी असुली गरिएको बिषयमा गण्डकी प्रदेश प्रहरीमा उजुरी परेपछि उनलाई इलाका प्रहरी कार्यालयमा सरुवा गरिएको थियो । तर केही महिनादेखि तिनै देवघाट दरबन्दी भएका असई रिमालले इलाका प्रहरी कार्यालय आँबुखैरेनी, बेलचौतारा, भीमाद लगायतका थानाचौकीबाट दररेट उठाउने गरेको आरोप एसपीमाथि छ । जिल्लाबाट हुने गोरु तस्करीदेखि जुवातास खेल्ने खेलाउनेहरुसँग असई रिमालले एसपीको नाममा सेटिङ गर्ने गरेको स्रोत बताउँछ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयमा धेरै गुनासापछि असई रिमाललाई एसपी शाहीले सरुवा गरेको भए पनि केही महिनादेखि दरबन्दी देवघाटमा देखाएर उनलाई जिल्लामा घुमुवाका रुपमा परिचालन गरेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजीले रिमालसहितका घुमुवाका बारेमा गुनासा पुगेपछि सोधीखोजी गर्दा देवघाटमा सरुवा गरिसकेको भनेर एसपी शाहीले गुमराहमा राख्दैआएका छन् ।

प्रतिक्रिया दिनुहोस्