Logo
Logo

छोरीहरूले गरे बुवाको काजकिरिया


441
Shares

काभ्रे । बनेपा नगरपालिकाकी उपप्रमुख विमला सापकोटा दाहालसहित उनकी दिदीबहिनी निर्मला र राधिका सापकोटाले आफ्ना बुवा हरिप्रसाद सापकोटाको काजकिरिया बसेका छन् । ९१ वर्षीय हरिप्रसादको हृदयघातका कारण आइतबार पनौती नगरपालिका-१, पर्खाल चौरमा निधन भएको थियो ।

The current image has no alternative text. The file name is: kiriya.gif

निधनपछि तीन छोरीहरूले बुवालाई दागबत्ती दिएर काजकिरिया सुरु गरेका छन् । तर, यो निर्णयलाई लिएर छिमेकी र नजिकका दाजुभाइले बहिष्कार गरेको भन्दै उपप्रमुख सापकोटाले सामाजिक सञ्जालमार्फत गुनासो व्यक्त गरेकी छिन् । विमलाका पाँच दिदीबहिनीमध्ये जेठी सुन्तली र माइली कमला स्वास्थ्य कारणले काजकिरियामा सहभागी भएनन् ।

विमला बनेपा नगरपालिकाकी उपप्रमुख, निर्मला बुद्धिजीवी परिषद्, एमाले काभ्रेको जिल्ला कोषाध्यक्ष, र राधिका नेकपा एमाले धादिङकी उपसचिव हुन् । सानैमा आमाको निधन भएपछि बुवा हरिप्रसादले छोरीहरूलाई कर्म, शिक्षा र अभिभावकत्व प्रदान गरी हुर्काएका थिए ।

छोरा नभएको कारण समाजबाट तिरस्कार र विभेदको सामना गरेका बुवाको निधनपछि छोरीहरूले काजकिरिया गर्ने प्रण गरेका थिए । उपप्रमुख सापकोटाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘सानैमा आमाको निधन भएपछि बुवाले हामीलाई माया, शिक्षा र कर्म दिएर यो अवस्थासम्म ल्याउनुभयो । छोरा नभएको कारण समाजबाट धेरै तिरस्कार भोग्नुभयो । मृत्युपश्चात् पनि काजकिरियाको सवालमा समाजले ठूलो बहस चलायो । तर, हामी सानैदेखि सहँदै आएको विभेद र तिरस्कारविरुद्ध अडानमा अटल छौँ ।’

उनले छरछिमेकमा आफूहरूविरुद्ध चलाइएको बहिष्कार तत्काल रोक्न र थप पीडा नदिन आग्रह गरेकी छिन् । ‘हामीले कसैको वंशमा दखल गरेका छैनौं । अब थप पीडा सहन सक्दैनौं,’ उनले लेखेकी छिन् । 

तीनै जना छोरी सचेत वर्गमा छन् । एकजना उपमेयर, एकजना एमालेको जिल्ला नेता र वकिल, र अर्को शिक्षक । उपप्रमुख सापकोटाले आफूहरूको कदमले हजारौं छोरीहरूमाथि न्याय हुने बताएकी छिन् ।

‘यो समाजले चलाएको बहस कानून र संविधानविपरीत छ । हाम्रो यो कदमले हजारौं छोरीमाथि न्याय हुनेछ । १३ दिन बुवाको घरमा काजकिरिया गरेर सधैंका लागि माइतीको ढोका बन्द गरेर कर्मघर फर्कनेछौं,’ उनले लेखेकी छिन् । स्थानीय बाहुनले समेत छोरीहरूबाट काजकिरिया गराउन अस्वीकार गरेपछि अन्यत्रबाट दीपक सुवेदीलाई ल्याएर काजकिरिया गराइएको छ । 

प्रतिक्रिया दिनुहोस्