काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा–३ मा भीरबाट लडेर ज्यान गुमाएका गोविन्द बस्नेतका ११ वर्षीया छोरी मेनिषा र ६ वर्षीय छोरा मेघराजको शव प्रहरीले आइतबार चिहानबाट उत्खनन गरेको छ ।

शव चिहानबाट उत्खनन गरी पोस्टमर्टमका लागि सदरमुकाम लगिएको हो । कानुनी प्रावधानअनुसार दुर्घटनामा ज्यान गुमाएकाको शव परीक्षण अनिवार्य भएकाले प्रहरीले यो कदम चालेको जनाएको छ ।
साउन २२ गते बिहान गोविन्द स्कुल गएका थिए । उनकी श्रीमतीले एक वर्षअघि अर्को बिहे गरेपछि उनी तीन छोराछोरीसहित बस्थे । त्यस दिन छोराछोरी स्कुल नगएर साप्सुखोला तरेर खमारे पुगेका थिए ।
बाटो बिर्सेर जङ्गलमा हराउँदा दुई बालबालिकाको भीरबाट लडेर मृत्यु भएको थियो । गाउँलेले शुक्रवार उनीहरूको अन्त्येष्टि गरेका थिए । तर, प्रहरीले अनुसन्धानका लागि भन्दै उनीहरूको शव निकालेको हो । प्रहरीले सो विषयमा अनुसन्धान अघि बढाएको छ ।














