
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिइँदै आएको भिजिटर पास वितरण बन्द भएको छ ।
भिजिटर पासका लागि भनसुन गरी लिने तथा पहुँच नभएका व्यक्तिले नपाउने गुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले भिजिटर पास बन्द गरेको हो ।
कार्यालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै आजदेखि नै भिजिटर पास वितरण बन्द गरिएको जानकारी दिएको छ ।
विमानस्थल त्रिभुवन अन्तरराष्ट्रिय टर्मिनल भवनबाट आवागमन गर्ने व्यक्तिगत सहायता आवश्यक पर्ने वृद्धवृद्धा, शारीरिक रूपमा फरक क्षमता भएका यात्रु, गर्भवती एवं नाबालक यात्रुका लागि सहायता कक्षको व्यवस्था गरिएको छ ।
साथै ह्विलचेयरलगायत विशेष सहयोग आवश्यक पर्ने यात्रुका लागि सम्बन्धित वायुसेवा कम्पनीको सहयोगमा सहजिकरण भइरहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए ।
सामान ‘चेक–इन’ सङ्ख्या र अधिकतम तौलको सीमा हवाई टिकटमा उल्लेख हुने भएकाले सोही व्यवस्थालाई पालना गर्न पनि कार्यालयले भनेको छ ।















