Logo
Logo

यात्रु भन्दा ‘सेल्फी खिच्नेको भिड’ लाग्न थालेपछि त्रिभुवन विमानस्थलमा भिजिटर पास बन्द


3.3k
Shares

कठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अन्तर्राष्ट्रिय टर्मिनलको हकमा दिँदै आएको ‘भिजिटर पास’ बन्द गरिएको छ । उक्त विमानस्थलको नागरिक उड्डयन कार्यालयले एउटा सार्वजनिक सूचना जारी गर्दै उक्त पास सेवा बन्द गरेको जानकारी गराएको हो । 

यात्रुको भन्दा उनीहरूसँग भित्र जान खोज्ने मानिसको अनावश्यक घुइँचो बढेका कारण समस्या उत्पन्न हुन थालेपछि यो निर्णय गरिएको विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए । 

यसअघि अन्तर्राष्ट्रिय उडानमा जाने यात्रुका आफन्त र साथीभाइलाई विशेष परिस्थितिमा ‘भिजिटर पास’ दिइँदै आएको थियो । सहज रूपमा सेवाप्रवाहदेखि सुरक्षासम्मका विषयलाई ध्यानमा राखी भिजिटर पास बन्द गर्ने निर्णय लिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । 

अशक्त तथा सहायता चाहिने यात्रुहरूका लागि भिजिटर पासको व्यवस्था गर्दै आइएकोमा पछिल्लो समय भिजिटर पास भनसुनबाट दिनुपर्ने परिस्थिति उत्पन्न भएको थियो ।

सो पासमा पनि राजनीतिक दलका नेताहरूको मात्रै पहुँच रहँदै आएको आरोप लाग्दै आएको थियो । वास्तविक यात्रुले भन्दा भनसुनबाट भिजिटर पास लिने प्रचलन बढेको थियो । त्यसरी भनसुनका आधारमा पास लिएर माथि घुम्न जाने, सेल्फी खिच्न जाने प्रवृत्ति देखिएपछि त्यसलाई निरुत्साहित गर्ने सो सेवा बन्द गरिएको हो । 

विमानस्थलको सुविधादेय समितिले सुविधा चाहिएका यात्रुका लागि पहिलेदेखि कायम रहेको व्यवस्थालाई अझ व्यवस्थित बनाउँदै बाँकीका हकमा बन्द गर्ने निर्णय गरेको हो । 

साँघुरो क्षेत्रमा यात्रुसँगै भिजिटरहरू हुँदा चेक-इन गर्न पनि असजिलो भइरहेको थियो । यात्रुले समेत हामीभन्दा भिजिटर नै बढी हुन थाले भन्ने गुनासो गर्न थालेका थिए । धेरै भिडभाड बोर्डिङ पास जारी हुने ‘चेक-इन’ क्षेत्रमा हुने गरेको थियो । माथिल्लो तलामा अध्यागमन काउन्टरनजिकै पनि यात्रुबाहेकका अरू मानिसको घुइँचो देखिने गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाल दैनिक बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालन हुने गरेको छ । अहिले बर्खा याममा दैनिक ७,००० को हाराहारीमा यात्रुहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने गरेका छन् । विमानस्थल सञ्चालन अवधिभरि दैनिक १,२०० देखि १,४०० सम्म भिजिटर आउने गरेका छन् । 

भिजिटर पास लिनेहरूका नाम टिप्नैका लागि कर्मचारी छुट्ट्याउँदा भार  पनि परेको थियो । निश्चित प्रकृतिका व्यक्तिलाई बाहेक भिजिटर पास पूर्ण रूपमा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

व्यक्तिगत सहायता आवश्यक पर्ने वृद्धवृद्धा, शारीरिक रूपमा फरक क्षमता भएका यात्रु, गर्भवती एवं नाबालक यात्रुका लागि सहायता कक्षको व्यवस्था यथावत् राखिएको छ । 

विमानस्थलभित्र अफिसिअल कामका लागि आउनेहरूको हकमा त्यो प्रबन्ध जारी रहने भएको छ । तर यात्रुसँग आउने मानिसका लागि भिजिटर पास चाहिँ बन्द नै गरिएको हो । अन्तर्राष्ट्रिय टर्मिनलमा भिजिटर पास बन्द गरिए पनि आन्तरिक विमानस्थलतर्फ सुचारु नै रहेको छ ।

सुरक्षाका हिसाबले विमानस्थललाई संवेदनशील क्षेत्रका रूपमा लिइन्छ । अनावश्यक रूपमा भिडभाड हुँदा सुरक्षाकर्मीलाई पनि व्यवस्थापनमा गर्न समस्या हुने गरेको थियो । 

विमानस्थलको बाटो हुँदै भएका सुनलगायत कतिपय तस्करीको विषयलाई लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थापनबारे विभिन्न खालका टीकाटिप्पणी हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्