काठमाडौ । नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनले दैलेखमा हालै पुष्टि भएको प्राकृतिक मिथेन ग्यासको उत्खनन, उत्पादन र बजारीकरणको जिम्मा नेपाल आयल निगमलाई दिन माग गरेको छ । युनियनले मङ्गलवार निगमका कार्यकारी निर्देशकलाई एक पत्र बुझाउँदै यो राष्ट्रिय गौरवको परियोजनाको नेतृत्व निगमले लिनुपर्ने बताएको हो ।

युनियनले चीन सरकारको सहयोगमा चिनियाँ जियोलोजिकल सर्वेले गरेको अध्ययनबाट दैलेखमा ९९३ अर्ब घनमिटर प्राकृतिक ग्यासको विशाल भण्डार रहेको पुष्टि हुनु देशका लागि ऐतिहासिक अवसर भएको भन्दै यसको व्यावसायिक उत्पादनको अवसर सरकारी स्वामित्वको संस्थालाई दिनुपर्ने उल्लेख गरेको
छ ।
यो ग्यासको व्यावसायिक उत्पादनले हाल भारतबाट पूर्ण रूपमा आयात भइरहेको एलपी ग्यासलाई प्रतिस्थापन गर्न सक्नेछ र यसले गर्दा वार्षिक रूपमा देशबाट बाहिरिने अर्बौँ रुपैयाँ जोगिने र देशको बढ्दो व्यापार घाटा न्यूनीकरणमा समेत मद्दत युनियनले जनाएको छ ।
यस्ता छन् युनियनका ७ माग
१. दैलेख ग्यासको व्यावसायिक उत्पादनको जिम्मा निगमलाई दिन सरकारसमक्ष औपचारिक आग्रह गर्ने।
२. ग्यास व्यवसाय सञ्चालन गर्न निगमको पूर्ण वा बहुमत स्वामित्वमा एक सहायक कम्पनी स्थापना गर्ने।
३. बजारको अध्ययन गरी ग्यासलाई तत्काल बोटलिङ गरेर बजारमा ल्याउने रणनीति बनाउने।
४. चिनियाँ टोलीको अनुभवका आधारमा उत्पादन र उपयोगको कार्य योजना तयार पार्ने।
५. परियोजनाका लागि आवश्यक प्राविधिक, वित्तीय, कानुनी तथा व्यावसायिक सम्भाव्यता अध्ययन गराउने।
६. सरकारको स्वच्छ ऊर्जा नीतिसँग यो परियोजनालाई जोड्ने।
७. उत्खननदेखि बजारीकरणसम्मको सम्पूर्ण जिम्मा लिने गरी सहायक कम्पनी स्थापना गरी काम अघि बढाउने।















