काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सूचना प्रविधिले जनतालाई छरितो, पारदर्शी र प्रभावकारी सेवा प्रदान गर्न महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताएका छन् ।

पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले बिहीबार सानेपास्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘डिजिटल प्लेटफर्मको प्रयोग र प्रभाव’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै देउवाले सूचना प्रविधिले जनताको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याइरहेको उल्लेख गरे । उनले कांग्रेस नेतृत्वको सरकारले लागू गरेको दूरसञ्चार नीतिका कारण दुर्गम क्षेत्रसम्म सूचना र प्रविधिको पहुँच विस्तार भएको बताए ।
‘कांग्रेस नेतृत्वको सरकारले ल्याएको दूरसञ्चार नीतिले दूरदराजका बासिन्दासम्म सूचना प्रविधि पुर्याउन सफल भएको छ,’ देउवाले भने, ‘हामीले नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रूपान्तरणको पक्षमा निरन्तर वकालत गर्दै आएका छौँ ।’देउवाले वर्तमान गठबन्धन सरकार, जसमा कांग्रेस पनि सहभागी छ, डिजिटल नेपाल निर्माणमा प्रतिबद्ध रहेको बताए ।
विज्ञान र प्रविधिको युगमा डिजिटल प्रविधिका सकारात्मक पक्षहरू प्रशस्त रहेको उल्लेख गर्दै उनले केही नकारात्मक पक्षहरू पनि देखा परेको बताए । ‘डिजिटल प्रविधिका धेरै फाइदा छन्, तर पछिल्लो समय यसका नकारात्मक पक्षहरू पनि देखिएका छन्,’ उनले भने, ‘यी नकारात्मक पक्षलाई नियन्त्रण गर्न आम नागरिक सचेत हुनुपर्छ र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्छ ।’














