Logo
Logo

विश्व बैक, वल्र्ड इकोनोमिक फोरम लगायतको रिपोर्ट—नेपालमा भ्रष्टाचार वढ्यो


- दृष्टि न्युज/संवाददाता



नयाँ निर्वाचित सरकार वनेपछि पनि नेपालमा भ्रष्टाचार झन वढेको एक अन्तराष्ट्रिय स्तरको रिपोर्टले भनेकोछ । विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोवल इनसाइट, बर्टेल्स्म्यान फाउण्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट लगायत छ वटा अन्तराष्ट्रिय संस्थाहरुले गरेको सर्वेक्षणको आधारमा ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको प्रतिवेदनमा सो तथ्य वताइएकोछ ।

विश्वमा सवभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क परेको छ भने सवभन्दा वढी भ्रष्टाचार हुने देशमा सोमालिया परेकोछ । विश्वका १८० देशको सर्वेक्षण गरिएकोमा डेनमार्क सवभन्दा कम भ्रष्टाचार हुने देशको रुपमा एक नम्वरमा परेकोछ भने सोमालिया सवभन्दा वढी भ्रष्टाचार हुने देशको रुपमा १८० औं नम्वरमा परेकोछ । गत वर्ष १२२ औं स्थानमा रहेको नेपाल यस वर्ष १२४ औं स्थानमा परेकोछ ।

प्रतिवेदन सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले भनेको छ, “सर्वेक्षणअनुसार निर्वाचनपछि पनि नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी, राजनीतिमा भ्रष्टाचार जस्ता दीर्घकालीन समस्या विद्यमान रहेको देखिन्छ । भ्रष्टाचार अवधारणा सूचकांक २०१८ मा नेपालले पाएको स्कोरले भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको देखिन्छ ।”

स्थायी सरकार वनेपछि पनि भ्रष्टाचारमा कुनै कमि नआएको तथ्य नेपाली जनताले वुझेकै र भोगेकै थिए । अहिले अन्तराष्ट्रिय समुदाय समेतले थाहा पाए । यस विचमा न त पुराना ठुला भ्रष्टाचार काण्डहरुलाई छानवीन गरी दोषि माथि सजाँय दिने काम भयो, न त नयाँ सार्वजनिक भएका भ्रष्टाचार काण्डहरुवारे नै सरकारले जनतालाई दोषी माथि कारवाही गरिने विषयमा आश्वस्त पार्न सक्यो । उल्टो भ्रष्टाचारको ढाकछोपमा ठुलावडाहरु नै लागेको आशंका जनतामा परेकोछ ।

ठुला नेताहरु नै भ्रष्टाचारमा संलग्न भएकोले सबैतिर भ्रष्टाचार मौलाएको जनताको विश्लेषण छ । यसमा ठुला नेताहरुले जनता समक्ष सफाइ दिन सकेका छैनन् ।

भ्रष्टाचारको वढ्दो प्रवृतिले एकातिर जनतामा तीब्र आक्रोस विकास हुँदै जानेछ भने अर्कोतिर यसले देशको आर्थिक विकासको गतिलाई अवरुद्ध गरिरहेकोछ ।

बैदेशिक लगानी र स्वदेशी लगानीकर्ताहरुले भ्रष्टाचार वारेको यस रिपोर्टलाई पनि आफ्नो लगानी गर्ने वातावरणको एक प्रमुख सूचक मान्ने गर्छन् । स्थायी सरकार वनेपछि पनि भ्रष्टाचारमा कमि नआउनुले नेपाली जनताको विकासको आकांक्षामाथि फेरि एकपटक तुषारापात हुने देखिएकोछ ।
रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्