रसुवा । रसुवागढी क्षेत्रमा आज गएको सुख्खा पहिरोले एकजनालाई घाइते बनाएको छ भने केही घर तथा भवनमा पनि क्षति पुगेको छ।

जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार, पर्सा जिल्ला पटेरूवा सुगौली गाउँपालिका—२ का करिब १९ वर्षीय विमलदास थारू स्थानीय ‘वर्कसप’मा काम गरिरहेका बेला सुख्खा पहिरोमा परी घाइते भएका हुन्। उहाँको टाउको र छातिमा गम्भीर चोट लागेकोले उपचारका लागि काठमाडौं पठाइएको छ।
रसुवागढीको पूर्वतर्फको पहाडबाट झरेको यो पहिरोले गत असार २४ पछि अवरुद्ध भएको सडकलाई थप जोखिममा पारेको छ। साथै, गढी क्षेत्रमा रोकिएका स्काभेटर, ट्रयाक्टर, कन्टेनर, स्कार्पियो जीप, सुरक्षाकर्मी बस्ने प्रिफेब भवन, सीमा क्षेत्रस्थित ‘हेल्थ डेस्क’ र चिया पसलमा समेत क्षति पुगेको छ।
सीमा सुरक्षा कार्यमा तैनाथ रसुवागढी नाका सुरक्षाकर्मी पहिरो आउन थालेपछि ल्हेन्देखोलाको बगरतर्फ भागेर सुरक्षित भएको प्रहरीले जनाएको छ।
स्थानीय, व्यापारी, राष्ट्रसेवक, सुरक्षाकर्मी, मजदूर र पैदलयात्रीहरू पनि सुख्खा पहिरोका कारण असुरक्षित महसुस गर्दै आएका छन्। साथै, बन्दरगाह क्षेत्र र आसपासका चारपाङ्ग्रे सवारीसाधनमा पहिरोले क्षति पु¥याउन सक्ने भएकाले समयमै उचित व्यवस्थापनको आवश्यकता रहेको बताइएको छ।














