Logo
Logo

साहित्यकार मनु योङहाङको आख्यान कृति ‘सेक्मुरी फूल’ विमोचित


315
Shares

काठमाडौं । साहित्यकार मनु योङहाङद्वारा लिखित आख्यान कृति ‘सेक्मुरी फूल’ को विमोचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि काइँलाले उपन्यासमा मुन्धुमी बिम्ब तथा ऐतिहासिक विषयवस्तुको सशक्त उठान भएको बताए । मुन्धुममा वर्णित ‘सेक्मुरी’ नामक मानवको प्रतीक फूललाई लेखकले उपन्यासमा पात्रका रूपमा प्रभावकारी ढंगले प्रस्तुत गरेको उल्लेख गर्दै काइँलाले भने, “यो उपन्यासले नेपालको प्रागऐतिहासिक कालदेखि बुद्धको आगमन र बौद्ध दर्शनको विस्तारसम्मको प्रसंग समेट्नुका साथै मुन्धुममा आउने सृष्टि उत्पत्तिको मिथकलाई समेत छोएको छ।”

उनले उपन्यासले नेपालमा विद्यमान विविध जीवनदर्शनहरुको परिचय पाठकसमक्ष गराएको धारणा व्यक्त गरे। साथसाथै, लेखकका अघिल्ला कृतिहरू फुङ, थोक्फेला, सेक्मुरी जस्ता फूलसँग जोडिएका शीर्षकहरूमध्ये रहेकाले भविष्यको कृतिको शीर्षक ‘सिङजाङगो फूल’ राख्ने हो कि भन्ने जिज्ञासासमेत व्यक्त गरे।

कार्यक्रमका अर्का अतिथि साहित्यकार कृष्ण धारावासीले ‘सेक्मुरी फूल’ पूर्वी पहाडबाट उदाएको शक्तिशाली साहित्यिक आवाज भएको बताउँदै भने, “पूर्वी पहाड विचार, साहित्य र सिर्जनाका दृष्टिले उर्वर क्षेत्र हो। त्यहाँबाट सिर्जना हुने कृतिहरू विचारको गहिरो जगमा उभिएका हुन्छन्।”

धारावासीले मोफसलका लेखक तथा साहित्यकारहरूको सबभन्दा ठूलो पीडा केन्द्रका भनिने मुख्यधारा सञ्चारमाध्यमहरूले यथोचित ध्यान नदिनु भएको धारणा राखे। उनले भने, “राजधानी बाहिर विमोचित कृतिहरूलाई राजधानीका ठूला सञ्चारमाध्यमहरूले स्थान दिन छोडेकै कारण लेखकले विमोचन स्थल राजधानी रोज्न बाध्य हुनु भएको हुन सक्छ।”

उनले राज्य तथा सम्बन्धित निकायहरूबाट लेखक तथा साहित्यकारहरूमा आवश्यक लगानी हुन नसकेकोप्रति दुःख व्यक्त गर्दै सोतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।

कार्यक्रमका अर्का वक्ता दीपक लुङगेली मगरले उपन्यासलाई इतिहास र सांस्कृतिक स्मृतिको दस्तावेजका रूपमा वर्णन गरे। उनले भने, “मेरो विद्यावारिधिको विषय लिम्बू संस्कृति र साहित्य भएकाले म कृतिमा मुन्धुमी बिम्ब र सौन्दर्यको प्रचुर प्रयोग पाउँछु। उपन्यास एक प्रकारको मुन्धुम र बौद्ध दर्शनको मिश्रित सेमिनारजस्तो लागेको छ।”

उनले उपन्यासका पात्रहरूको फरक मनोवैज्ञानिक यात्राले कृतिलाई पृथक् पहिचान दिएको बताए। साथै, मुन्धुममा रुचि राख्ने पाठकहरूका लागि यो उपन्यास उपयोगी स्रोत बन्ने विश्वास व्यक्त गरे।

नेपाल खुला विश्वविद्यालयका प्राध्यापक डा. सञ्जीव हुमागाईंले उपन्यासले पात्रहरूलाई जीवन्त ढंगले प्रस्तुत गर्नुका साथै दर्शनका विविध आयाम समेटेको बताए। इतिहास र दर्शनलाई सबल ढंगले प्रस्तुत गर्नु उपन्यासको विशेषता भएको उनले उल्लेख गरे।

पद्मकन्या क्याम्पसकी प्राध्यापक अनुपमा रेग्मीले उपन्यास मिथक र लोकविश्वासको जगमा उभिएको बताउँदै यसलाई केवल साहित्यिक रचना मात्र नभई वैचारिक तथा दार्शनिक उपन्यासका रूपमा मूल्याङ्कन गरिन्। “यो उपन्यास बौद्धिक पाठकहरूका लागि उत्कृष्ट सिर्जना बनेको छ,” उनले भनिन्।

कार्यक्रमका अध्यक्ष तथा साहित्यकार धर्मेन्द्र नेम्बाङले लेखक इतिहासका अध्येता भएको कारण उपन्यासमा इतिहासको सशक्त प्रस्तुति देखिएको बताए। उनले लेखकलाई कृतिको सफलताको शुभकामना दिँदै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे।

विमोचन कार्यक्रममा साहित्यकार, बुद्धिजीवी, स्रष्टा तथा साहित्य अनुरागीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन युवा अध्येता भेषराज चेम्जोङले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्