काठमाडौं । हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिनदेखि परम्परागत रूपमा मनाइने सांस्कृतिक तथा ऐतिहासिक इन्द्रजात्रा पर्व समापन भएको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा ठड्याइएको लिङ्गो बिहीबार अपरान्ह ढालेसँगै जात्रा समापन भएको हो ।

देशको पछिल्लो अवस्थाका कारण क्षमापूजा गरी छिटै लिङ्गो ढालेर जात्रा समापन गरिएको हो । इन्द्रजात्राको अन्तिम दिन कुमारी, गणेश र भैरवसहितको रथयात्रा गरिने परम्परा रहे पनि यस वर्ष रथयात्रा हुन सकेन ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।














