काठमाडौं । समाजवादी प्रेस सङ्गठन नेपालले भदौ २३ र २४ गते जेनजी युवाहरूले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको अत्यधिक दमनको घोर भर्त्सना गरेको छ ।

सङ्गठनले उक्त दमनमा ज्यान गुमाउने १९ जना प्रदर्शनकारीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घटनाको उच्चस्तरीय न्यायिक छानबिनको माग गरेको छ ।
विज्ञप्ति
समाजवादी प्रेस संगठन २०८२ भदौ २३ र २४ गते जेन–जीको शान्तिपूर्ण प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको दमनमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । त्यस्तै, समाचार संकलनका क्रममा घाइते भएका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । जेन–जी युवाको आन्दोलनको क्रममा सञ्चारगृह, प्रेस सम्बद्ध संगठनका कार्यालय, पत्रकारको घरमा भएको आगजनी, तोडफोड तथा पत्रकारमाथि भएको आक्रमणको समाजवादी प्रेस संगठन नेपाल घोर आपत्ति प्रकट गर्दै कडा शब्दमा आपत्ति प्रकट गर्दछ । आन्दोलनको क्रममा सार्वजनिक तथा निजी सम्पत्ति र व्यक्तिमाथि भएको आक्रमण, आगजनी, तोडफोड, लुटपाट निन्दनीय छ । सार्वजनिक तथा निजी सम्पत्ति र व्यक्तिमाथिको आक्रमण, आगजनी, तोडफोड र लुटपाटको उच्चस्तरीय न्यायिक समितिमार्फत छानवीन गरी दोषीउपर कडा कारबाही गर्न माग गर्दछ । त्यस्तै, विभिन्न वर्तमान व्यवस्था प्रतिकूल जुनसुकै नाममा हुने कुनै पनि कार्य स्वीकार्य छैन । लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र हो । यो वा त्यो बहानामा नागरिक सर्वोच्चता खोस्ने र प्रतिगमनतर्फ अग्रसर हुने कुनै पनि कार्य संगठनलाई मान्य हुने छैन । वर्तमान राजनीतिक संकटको समाधान संविधानभित्रैबाट खोज्न संगठन आग्रह गर्छ । जेन–जी समुहले उठाएका मुद्दा र माग लोकतान्त्रिक विधि र संवैधानिक प्रक्रियामार्फत नै समाधान खोजिनुपर्दछ । त्यो समाधान राजनीतिक दललाई बाहिर राखेर खोज्ने प्रयास अलोकतान्त्रिक र असंवैधानिक हुने संगठनको ठहर छ । अन्त्यमा, पूर्ण प्रेस स्वतन्त्रता, नागरिक सर्वोच्चता, लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको समानुपातिक समावेशीतालाई संस्थागत गरेको संविधानको रक्षाको पक्षमा एकताबद्ध भएर दृढ्तापूर्वक उभिन आमजनता, सञ्चारकर्मी, पेशागत संघ, संगठनलाई हार्दिक अपिल गर्दछ । धन्यवाद । रोहित दाहाल महासचिव














