Logo
Logo

निजी घर र व्यावसायिक कार्यालय ध्वस्त 


630
Shares

काठमाडौं । जेनजी युवाहरूको आह्वानमा भएको सामाजिक सञ्जाल निषेध, भ्रष्टाचार र कुशासनविरुद्व भदौ २३ गते भएको आन्दोलनमा राज्यले बर्बर दमन ग¥यो । राज्यको दमनपछि आक्रोशित भएको भीडले भदौ २४ गते बिहानैदेखि देशैभर निजी तथा सरकारी संरचना तोडफोड र आगजनी ग¥यो ।

The current image has no alternative text. The file name is: fire-1.jpg

मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार, संसद् भवन, राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्रीको सरकारी निवास, प्रधानमन्त्रीको निजी निवास, पूर्वप्रधानमन्त्री निवास, अन्य नेता र मन्त्रीहरूको निवास, सयौँ प्रहरी चौकी, देशभरका अधिकांश सरकारी कार्यालय र राजनीतिक दलका कार्यालयहरू ध्वस्त भए ।

उग्र बनेको भिड यतीमा मात्रै सिमित रहने, यो भिड निजी सम्पत्तिसँग पनि ठोक्किन पुग्यो । देशकै एकमात्र डलर अर्बपति विनोद चौधरीको निजी घर र कार्यालय लुटपाट पछि आगो लगाएर ध्वस्त पारियो । आधा दर्जनभन्दा बढी सवारीसाधान पूर्णरूपमा जलेर खरानी भए । मीनबहादुर गुरुङले बनाएका देशभरका १२ वटा भाटभाटेनी सुपरमार्केटमा लुटपाटपछि आगजनी गरियो भने अन्य आधा दर्जन भाटभाटेनीमा लुटपाट मच्चाइयो ।

यस्तै पर्यटकीयस्थल चन्द्रागिरीमा तोडफोडपछि आगजनी गरियो । मौलाकाली केबुलकारको बटम स्टेसन पनि आगो लगाइयो ।
अर्बौँ लगानीमा बनेको शङ्कर ग्रुपको नक्सालस्थित पाँचतारे डिलक्स हिल्टन होटल लुटपाटपछि भएको आगजनीबाट ध्वस्त भयो ।

टेलिकम कम्पनी एनसेलको लैनचौरस्थित मुख्यालयमा आगजनी भएको छ । शेखर गोल्छाको घरमा तोडफोड गरिएको छ । ४ वटा गाडी जलाइयो । अर्का उद्योगी सञ्जय गोल्छाको घरमा पनि आगजनी गरियो ।

बसन्त चौधरीको ठमेलस्थित घरमा पनि तोडफोड भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का संस्थापक अध्यक्ष व्यवसायी उपेन्द्र महतोको आवासमा समेत प्रदर्शनकारीले लुटपाट, तोडफोड र आगजनी गरे ।

थापाथलीस्थित टाटा, हुन्डाइ, महिन्द्रा र सिजी मोटर्सको शोरुम जलाएर ध्वस्त पारियो । कान्तिपुर पब्लिकेशनको कार्यालय रहेको सेन्ट्रल पार्क जल्यो । बैङ्कका आधादर्जन बढी शाखा र एटीएम बुथमा तोडफोड र लुटपाट भयो ।

रामेश्वर थापाको सिम्रिक एयर, अन्नपूर्ण पोष्टको कार्यालयमा प्रदर्शनकारीले आगजनी गरे । व्यवसायी पवन गोल्यानको कार्यालय गोल्यान टावरमा र राजेन्द्र बजगाईंको बालुवाटारस्थित वर्णवास होटल र बत्तीसपुतलीस्थित मारवाडी सेवा समितिको टावरमा आक्रमण भयो ।

पूरानो बानेश्वरस्थित ग्लोबल कलेज अफ म्यानेजमेन्टमा आक्रमण भएको छ । पोखराको बगैँचा रिसोर्ट र लगानीकर्ता विन्दुकुमार थापाको निवासमा आक्रमण गरिएको छ ।

देशभर विभिन्न व्यवसायिक प्रतिष्ठान र निजी घर ध्वस्त पारिएको छ । यस्तै गभर्नर विश्वनाथ पौडेलको भैंसेपाटी र चितवनमा रहेको घर जलाएर ध्वस्त पारियो । गाउँदेखि सहरसम्म सार्वजनिक र निजी सम्पत्तिमा आगजनी र तोडफोड गरियो । हजारौँ सवारीसाधन ध्वस्त पारियो ।

यसरी सार्वजनिक र निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीमा खर्बौँको सम्पत्ति ध्वस्त पारियो । यसको पुनर्निर्माण भावी दिनका लागि निकै ठूलो चुनौती हुने निश्चित छ । हाम्रो अर्थतन्त्रले थेग्नसक्ने अवस्था छैन । यसले देशलाई १० औँ वर्षपछि धकेलेको छ । उद्योगी व्यवसायीको निजी घर-गाडी र उद्योगमा भएको तोडफोड र आगजनीले तत्कालको अर्बौँको क्षति मात्रै भएन, उनीहरूको मनोबल पनि ध्वस्त भयो । उद्योगी व्यवसायीको ध्वस्त भएको मनोबल उकास्न त्यति सजिलो छैन ।

आफ्ना राजनीतिक माग पूरा गर्न निजी सम्पत्ति ध्वस्त पार्ने काम जोसुकैले गरे पनि त्यो निन्दनीय छ । जेनजी पुस्ता सरकारमा आउने निश्चित छ तर सरकार चलाउन मन्त्री, प्रधानमन्त्री बस्ने ठाउँ छैन । कर्मचारी बस्ने ठाउँ छैन । जनतालाई सेवा दिने मालपोत, यातायात, पालिका र वडा कार्यालयहरू ध्वस्त पारिएका छन् ।

उद्योगी व्यवसायीहरूले लाखौँलाई रोजगारी दिएका छन्, राज्यलाई खर्बौँ कर तिरेका छन् । रोजगारी र कर बिना राज्य सञ्चालन हुन सक्दैनन् ।

पूराना पुस्ताका नेताबाट आर्थिक सम्मृद्वि असम्भव थियो । यस्तो अवस्थामा निश्चय पनि देशमा शान्तिपूर्ण आन्दोलन आवश्यक थियो राजनीतिक र आर्थिक रूपान्तरणका लागि । तर भदौ २४ गतेको घटना जेनजीको उद्देश्य र नियन्त्रणबाट बाहिर गएको देखिन्छ । जसले गर्दा देशले अपूरणीय क्षति बेहोरेको छ ।

नयाँ लगानी भएन भने थप रोजगारी सिर्जना हुँदैन । रोजगारी सिर्जना नभएपछि थप युवाहरू विदेश पलायन हुनेछन् । देशलाई भोकमरीले सताउन सक्नेछ । भोकमरीबाट बाँच्न लुटपाट मच्चिने खतरा पनि उत्तिकै हुनेछ ।

संयमित भएर सिङ्गो समाजलाई एकताबद्ध गर्दै अघि बढ्नु आजको आवश्यकता हो । भदौ २५ र २६ गते सरकार गठनका विषयमा जेनजीबीच देखिएको विवादले आगामी दिन सहज छैनन् भन्ने प्रष्ट संकेत गरेको छ । तातो रगतले मात्रै देश बन्दैन, देश बनाउन प्रष्ट भिजन भएको र संयम अपनाउने चतुर र सर्वस्वीकार्य नेता चाहिन्छ । जुन अहिलेको जेनजीले देखाउन सकिरहेका छैनन् ।

क्षति बीमा दाबी भुक्तानी छिटो गराउन प्राधिकरणको निर्देशन

नेपाल बीमा प्राधिकरणले पछिल्ला घटनाको क्षतिमा आउने बीमा दाबी भुक्तानी छिटो र सहज गर्न बीमा कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले बिहीबार निर्देशन जारी गर्दै देशको परिस्थिति असहज भएकाले सहज र छिटो दाबी भुक्तानी गर्न भनेको हो ।

क्षतिमा बिमितको धनसम्पत्ति परेको र माग दाबी आएको अवस्थामा भुक्तानी प्रक्रिया सहज र छिटो गर्न प्राधिकरणले निर्जीवन बीमा कम्पनी तथा निर्जीवन लघु बीमा कम्पनीलाई निर्देशन दिएको हो ।

प्राधिकरणले कुन-कुन शीर्षकमा माग दाबी आएको हो, त्यसको समयमा विवरण पेस गर्नुपर्ने व्यवस्था गरेको छ । प्राधिकरणले सम्पत्ति, निजी तथा सार्वजनिक गाडी, सामुद्रिक, इन्जिनियरिङ तथा ठेकेदार जोखिम, हवाई, कृषि बाली, पशुपन्छी र विविध शीर्षकका बीमालेखमा आएका दाबीको छिटो र सहज भुक्तानी गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्