
काठमाडौं । नेपालले पहिलोपटक महिला प्रधानमन्त्री पाउने भएको छ । जेनजी आन्दोलनका क्रममा केपी ओली नेतृत्वको सरकार ढलेपछि अन्तरिम सरकार प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्की बन्ने लगभग पक्का भएको हो ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा बिहीबार रातभर भएको जेनजी प्रतिनिधि, शुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलेसहितको वार्तामा अन्तरिम प्रधानमन्त्री कार्कीलाई बनाउन सर्वपक्षीय समझदारी बनेको हो । तर संसद् विघटन गरिनुपर्ने जेनजीहरूको मागमा भने राष्ट्रपतिले निर्णय दिन नसक्दा निष्कर्षमा पुग्न भने बाँकी छ । यसका लागि राष्ट्रपतिले आज ९ बजे पुनः जेन–जीसहित सरोकारवाला पक्षसँग वार्ता गर्दै छन् ।
जारी छलफलमा संसद् रहेकै अवस्थामा गैरसांसद कार्कीलाई प्रधानमन्त्री बनाउने बाटो संविधानले नदिएको तर्क गरिएकाले निष्कर्षमा पुग्न कठिन भएको हो । तथापि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ (४) अन्तर्गत ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्न सकिने विषयमा संविधानविद्हरूसँग परामर्श गरेका छन् ।
भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले भदौ २३ गते काठमाडौंसहित देशका विभिन्न सहरमा गरेका प्रदर्शनमा प्रहरी दमनबाट १९ जना युवा मारिएपछि दोस्रो दिन आन्दोलन उग्र बनेको थियो ।
प्रदर्शनकारी तोडफोड, आगजनी र नेता कुटिपटमा उत्रिएपछि भदौ २४ गते बाध्य भएर प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि मुलुक अन्तरिम सरकार गठन प्रक्रियामा अघि बढेको हो ।














