काठमाडौं । काठमाडौं लगायत देशका विभिन्न स्थानमा भएको जेनजीको आन्दोलनको क्रममा प्रहरीबाट लुटिएको हतियार नेपाली सेनाले बरामद गरेको छ । भदौ २३ र २४ गते काठमाडौंसहित देशभरको प्रदर्शनमा प्रहरी कार्यालय तथा सुरक्षाका लागि खटिएका प्रहरीको साथमा भएको हतियार आन्दोलनकारीले लुटेका थिए ।

सिन्धुली जिल्लाको मरिन-४ स्थायी घर भएका एक व्यक्तिले आन्दोलनको दौरान नेपाल प्रहरीबाट लुटेको ९ मिमि चाइनिज पेस्तोल नाल-१ काठमाडौंस्थित डल्लु ईलाकामा खटिएको नेपाली सेनाको पेट्रोल टोलीलाई बुझाएको छ ।
हालसम्म विभिन्न स्थानहरूबाट २६८ नाल हतियारहरू बरामद गरिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सार्वजनिक सूचना प्रकाशित गरी लुटिएका वा फेला पारेका हतियार सुरक्षा निकायलाई बुझाइदिन आग्रह गरेका छन् । जेनजी आन्दोलनका क्रममा देशभरका अधिकांश प्रहरी कार्यालय ध्वस्त भएका छन् ।














