Logo
Logo

रास्वपा छाडेकी सुमना श्रेष्ठ मन्त्री बन्न लागेकी हुन् ?


3.8k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् । उनले पार्टीको आधिकारिक ग्रुप म्यासेन्जरमार्फत सन्देश पठाउँदै रास्वपा छाडेको जानकारी गराएकी हुन् । श्रेष्ठको सचिवालयका अनुसार, उनले पार्टी नेतृत्वप्रति गहिरो असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेकी हुन् ।

श्रेष्ठले लेखेकी छन्, “गल्ती कहिल्यै स्वीकार नगर्ने, गल्तीमाथि गल्ती दोहोर्याइरहने र त्यसको भार सबै कार्यकर्ताले बोक्नुपर्ने अवस्था बनाइएको छ । पार्टीभित्र आलोचना गर्नेहरूलाई मिडियामार्फत बदनाम गरिन्छ । जबदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी, र पार्टीभन्दा माथि नेतालाई राख्न थाल्यो, तबदेखि नै म आलोचना गर्दै आएकी थिएँ । तर, त्यसको कुनै अर्थ रहेन । उल्टै मिडिया ट्रायलको शिकार बन्नुपर्‍यो, जुन अस्वीकार्य छ ।”

उनी थप लेख्छिन्, “अब खुला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएकी छु । मनलाग्दो गरिरहनुहोस् । म पार्टी छाड्छु । आई क्विट ।”

श्रेष्ठले प्रमुख दलहरूका नेताहरूप्रति पनि प्रश्न उठाएकी छन् । उनले लेखेकी छन्, “कांग्रेस, एमाले लगायतका दलका तेस्रो पुस्ताका नेताहरूले पनि सोच्नुपर्ने बेला आएको छ । आजको अवस्था तपाईंहरूको नेतृत्वशैलीकै कारण आएको हो । त्यसको बोझ किन बोकिरहनुभएको छ ? अब समय आएको छ — नेताहरूको पूजा नगर्नुहोस् । कि हटाउनुहोस्, कि आफैं हट्नुहोस् ।”

यसअघि नै सुमना श्रेष्ठले पार्टीको सह–महामन्त्री पदबाट राजीनामा दिइसकेकी थिइन् । त्यसबेला उनले सांसदको भूमिकामा केन्द्रित हुनुपर्ने बताएकी थिइन् । तर, आइतबारको घोषणासँगै उनको रास्वपासँगको सम्बन्ध पूर्णरूपमा समाप्त भएको छ ।

राजनीतिक वृत्तमा श्रेष्ठको यो निर्णयलाई प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारमा सम्भावित मन्त्री बन्ने तयारीसँग पनि जोडेर हेरिएको छ । प्रधानमन्त्री कार्कीको शपथग्रहण समारोहमा सुमना श्रेष्ठको उपस्थिति र उनको ‘जेनजी आन्दोलन’प्रतिको समर्थनपछि उनी मन्त्री बन्ने चर्चा चालेको थियो ।

तर, उनले मन्त्री बन्न नआएको स्पष्ट पार्दै जेनजीलाई सहयोग गर्ने स्पष्ट पारेकी छन । श्रेष्ठले मन्त्री बन्ने चाहनाले पार्टी नछाडेको स्पष्ट पार्दै भनेकी छन्, “मैले मन्त्री पदको लागि पार्टी छाडेकी होइन । म यहाँ भाइबहिनीहरूलाई सहयोग गर्न आएको हुँ ।’

प्रतिक्रिया दिनुहोस्