काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पुनर्गठनका लागि पद छोड्न आफू तयार रहेको बताएका छन् ।
जेनजी आन्दोलनका कारण राजनीतिक अवस्था चुनौतीपूर्ण भएको उल्लेख गर्दै पार्टी पुनर्गठन आजको आवश्यकता भएको बताएका हुन् ।

उनले भने, ‘र्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता हो। संविधान दिवस कै दिनदेखि संकल्पसहित पुनर्गठन अभियान सुरु गरौँ, जेन–जी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउने गरी पार्टीको सदस्यता, संगठन संरचना, नेतृत्वचयन प्रक्रियादेखि हाम्रा मुद्दा र शैली सबैमा आमूल सुधार जरूरी छ। हामीले अहिले जे र जसरी गरिरहेका छौं त्यसैको निरन्तरताले मात्र पार्टीको पुनर्निर्माण आरम्भ हुँदैन ।’
पार्टी आमूल सुधारका लागि पदीय जिम्मेवारी छोड्न तयार हुनुपर्ने र त्यसका लागि आफू तयार रहेको उनको भनाइ छ।
उनले भने, ‘पार्टीमा आमूल सुधारका लागि हामीले आफ्नो पदीय जिम्मेवारी छोडेर पनि तयार हुनुपर्छ, नयाँ जोखिम उठाउनका निम्ति तयार रहनुपर्छ, यसको लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु। यसमा छलफल सुरू गरौं । स्वीकार गरौं(गल्ती भएको छ अनि आत्मसमीक्षा, आत्ममुल्याङ्कन र आत्मसंकल्प गरौं ।’














