Logo
Logo

गेमिङ क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न गृहकार्य अघि बढाएका छौं : प्रधानमन्त्री बालेन


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आईटी) उद्योगको विकास र विस्तारका लागि नीतिगत सुधार तथा कर सहुलियतको व्यवस्था गर्ने बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपाली युवाले निर्माण गरेका गेमले विश्व बजारमा ठूलो सफलता हासिल गरिरहेको उल्लेख गरेका हुन् ।

नेपालीले निर्माण गरेको विश्व चर्चित ‘लुडो गेम’ झण्डै २० करोड र ‘कलब्रेक गेम’ १५ करोडभन्दा बढी डाउनलोड भएको उनले बताएका छन् । यसबाहेक नेपालमा सयौँ युवाहरू गेम एप निर्माणमा सक्रिय रहेको समेत उनले जानकारी गराएका छन् ।

प्रधानमन्त्री शाहले गेम डेभलपमेन्ट क्षेत्रमा संलग्न युवाहरूसँग छलफल गरी उनीहरूका समस्या र उद्योग विकासका सम्भावनाबारे जानकारी लिइएको पनि बताएका छन् । उक्त क्षेत्रलाई सहज बनाउँदै उद्योगका रूपमा विकास गर्न आवश्यक गृहकार्य अघि बढाइएको उनको भनाइ छ ।

‘सयौं युवाहरु गेम एप बनाउन तल्लिन हुनुहुन्छ । हामीले उहाँहरूलाई बोलाएर समस्याहरू पनि बुझ्यौं र यो गेम डेभलेपमेन्ट क्षेत्रलाई सजिलो बनाउन र उद्योगको रूपमा अघि बढाउने कुराहरू बारे पनि कुरा गर्यौं,’ उनले लेखेका छन्, ‘अब उहाँहरूको समस्या समाधान गर्ने गृहकार्य अघि बढाइएको छ । नेपालबाटै हामीले ग्लोबल युनिकन कम्पनी बनाउन सहज पार्नुपर्ने नियम, वातावरण सबै पुनरावलोकन गर्नेछौं ।’

आईटी उत्पादन तथा निर्यातको क्षेत्र पनि सम्भावनापूर्ण अवस्थामा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाली प्रतिभा र कम्पनीहरूले सहज रूपमा आम्दानी गर्न तथा त्यसलाई पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्