Logo
Logo

एकीकृत समाजवादीले विचार मिल्ने पार्टीसँग एकताको पहल गर्ने 


1.4k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकता र सहकार्यको पहल गर्ने निर्णय गरेको छ । मुलुकमा उत्पन्न जटिल परिस्थितिमा वामपन्थी शक्तिहरूलाई एकताबद्ध भएर अगाडि बढ्नुपर्ने निष्कर्ष निकाल्दै पार्टीले यस्तो निर्णय गरेको हो ।

The current image has no alternative text. The file name is: samjbdi.gif

उपाध्यक्ष प्रकाश ज्वालाले कम्युनिस्ट आन्दोलन, राष्ट्रिय स्वाधीनता र जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्न सबै कम्युनिस्ट, वामपन्थी र समाजवादी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् । पार्टीको १० बुँदे निर्णयमा विचार, सिद्धान्त र कार्यक्रममा सहमति जनाउने वामपन्थी, कम्युनिस्ट र समाजवादी समूहहरूसँग एकता र अन्य पार्टीहरूसँग समसामयिक सहकार्यको पहल गर्ने उल्लेख छ ।

‘हाम्रा नीति, सिद्धान्त र कार्यदिशासँग सहमत हुने पार्टी र समूहहरूसँग एकता र सहकार्यका लागि पहलकदमी लिन्छौँ,’निर्णयमा भनिएको छ । यसैगरी, २०८२ फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउन सरकार, राजनीतिक दल, नागरिक समाज र सम्बन्धित सबैमा पार्टीले आह्वान गरेको छ ।

विगतका कमी-कमजोरीको समीक्षा गर्दै राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, जनहित र मुलुकको समृद्धिका लागि दृढतापूर्वक अगाडि बढ्ने प्रतिबद्धता पार्टीले व्यक्त गरेको छ । साथै, अन्य राजनीतिक दलहरूलाई पनि आ-आफ्ना कमी-कमजोरी सच्याएर अगाडि बढ्न आह्वान गरिएको छ । मुलुक संवेदनशील मोडमा रहेको भन्दै पार्टीले आफ्ना कार्यकर्तालाई उच्च मनोबलका साथ काम गर्न, पार्टी गतिविधि नियमित सञ्चालन गर्न र अन्य दल, नागरिक समाज र जनसमुदायसँग सहकार्य गर्दै अगाडि बढ्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्