पछिल्लो समय युवापुस्ता कला क्षेत्रमा आकर्षित हुन थालेका छन् । त्यसैले कला क्षेत्रमा युवाको भीड बढ्दैछ । यसै भीडमा आफूलाई स्थापित गराउन र कला जगत्मा आफ्नो भविष्य बनाउने योजनासहित अघि बढ्दै गरेकी मोडल हुन् सजिना लामिछाने । नृत्य र अभिनयमा पोख्त सजिना पछिल्लो समयकी व्यस्त मोडल हुन् । उनी आफ्नो कामप्रति जस्तोसुकै लगनशीलता र मेहेनत गर्न पनि चुकाउँदिनन् । सानै उमेरदेखि नृत्यमा रुचि राख्ने सजिना अभिनयमा पनि अब्बल मानिन्छन् ।
आँशुको आम्दानी, सबैले छोडेर गए, पाउनुभन्दा गुमाउनु, म त जिउँदै मरेकी छु, छोड सताउन, छोडी जाने निष्ठुरी, परदेशीको पीडा, रुदै पर्खेर, आफ्नु मनलाई आफैँले, नगरन चिसो मेरो मन, देखायांै नि मायामालगायत दर्जनौँ गीतको भिडियोमा मोडलिङ गरिसकेकी मोडल सजिना लामिछानेसँग दृष्टिको जम्काभेट :

हिजोआज के गर्दै हुनुहुन्छ ?
केही दिन पहिलेमात्र दोहोरी गीतको भिडियो सार्वजनिक गरेका थियौँ । जुन भिडियो अहिले चर्चामा छ । केही सुटिङ भएर पोष्ट प्रोडक्सनमा रहेको छ भने केही रिलिजको तयारीमा छ । यही शुक्रबार मात्र ‘देखेपछि’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । यो भिडियोबाट पनि राम्रै रेस्पोन्स आइरहेको छ ।
यतिबेला भ्याइनभ्याई छ उसो भए ?
पछिल्लो समय म्युजिक भिडियो बन्ने क्रमले तीव्रता पाएसँगै हामीजस्ता कलाकारको व्यस्तता बढ्नु स्वाभाविक हो । सुन्ने गीतको भन्दा हेर्ने गीतप्रतिको आकर्षणका बढेका कारण कामको कमी छैन । गर्ने बेला पनि यही हो । त्यसैले समयले भ्याएसम्म गरिरहेकी छु ।
किन यो क्षेत्र रोज्नुभयो ?
वास्तवमा कलाकारिता एउटा रहरमात्र होइन, जहाँ गर्न सके नाम र दामसँगै समाजमा प्रतिष्ठा कमाउन सकिन्छ । त्यसैले पनि होला नयाँ पुस्ताका युवायुवतीहरु कला क्षेत्रमा बढी आकर्षित हुने गरेको छ, जसमध्ये म पनि एक हुँ ।
यो क्षेत्रमा भविष्य देख्नुहुन्छ ?
मोडलिङ क्षेत्र आफैँमा एउटा राम्रो र सम्भावना बोकेको क्षेत्र हो, अभिनय र नृत्य विधामा राम्रा सम्भावना बोकेका कलाकारले यसैको माध्यमबाट विभिन्न अवसरहरु पनि पाइरहेको हुन्छन् भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाइरहेका कारण यसमा भविष्य छैन भन्न त मिल्दैन नि ।
यो क्षेत्रमा प्रवेश कसरी भयो ?
कला क्षेत्रमा काम गर्ने सोच सानैदेखि थियो । त्यसैले सुरुवाती समयमा सानोतिनो भूमिका पाए पनि गरिन्थ्यो । काम गर्दै जाँदा मेरो कामप्रतिको लगनशीलता र इमान्दारिता देखेर निर्माता, निर्देशकहरुले आफ्नो प्रोजेक्टहरुमा लिनथाल्नुभयो र एकपछि अर्काे भिडियोमा काम गर्ने क्रमले निरन्तरता पायो । जसका कारण आज यो ख्याति र प्रतिष्ठा मिलेको छ ।
कति भिडियोमा काम गर्नुभयो अहिलेसम्म ?
सुरुवाती समयबाट नै सेलेक्टेड भिडियोमात्र गर्दै आएकी कारण त्यस्तै तीन दर्जन पुग्यो कि । अफर आएजति भिडियो गरेको भए सयौं पुग्थ्यो होला ।
कस्तो गीतको भिडियोमा काम गर्न पाए हुन्थ्योजस्तो लाग्छ ?
आफ्नै कुरा गर्नुपर्दा मलाई स्कुले विद्यार्थी, गाउँले युवती वा गृहणी र सहरिया मोडन युवतीजस्तो लुक्स मलाई सुहाउँछ । जहाँसम्म मनपर्ने कुरा छ । मलाई नृत्यप्रधान गीतमा अभिनय गर्न विशेष मनपर्छ । किनकि नृत्यप्रति अलि बढी झुकाव छ मेरो । तथापि, कलाकार भएको नाताले सबै प्रकारको गीतमा अभिनय गर्न सक्नुपर्छ भन्ने कुरामा विश्वास राख्छु ।
आर्थिक दृष्टिकोणले कसरी लिनुभएको छ यो क्षेत्रलाई ?
कुनै पनि क्षेत्रमा काम गर्दा फाइदा भैहाल्छ भन्ने हुँदैन । कसरी पाईदा लिन सकिन्छ भन्ने कुरामा आफ्नो काम गराइ र लोकप्रियतामा भरपर्छ । लोकप्रियतासँगै कामको स्पिरिट बढ्दै जाने हो भने आर्थिक पाटो बलियो हुन्छ । आफूले गरेको मिहेनतअनुसार आर्थिक रुपले सन्तुष्ट नै छु ।
कुनै व्यवसाय गर्नुहुन्छ कि ?
कलाकारिता मेरो रुचिको विषय भएकाले यसलाई निरन्तरता दिनुका साथै काठमाडौँको अनामनगरस्थित सुरसंगीत डिजिटल रेकर्डिङ स्टुडियो सञ्चालन गरिरहेको छु ।
यस क्षेत्रमा आउन चाहने युवापुस्तालाई के सल्लाह दिनुहुन्छ ?
आफूमा क्षमता छ भने यो क्षेत्रबाट पनि आफ्नो भविष्य सुनिश्चित गर्न सकिन्छ । क्षणिक चर्चाभन्दा पनि दीर्घकालीन रुपमा टिकिरहन सक्ने वातावरण निर्माणमा ध्यान पुर्याउन सल्लाह दिन चाहन्छु ।
यो क्षेत्रमा लागेर अहिलेसम्म के पाउनुभयो ?
सबैभन्दा ठूलो कुरा त साथीभाइ पाएकी छु । अनि दर्शकको माया र साथ पाएकी छु । एउटा कलाकारका लागि माया, साथ र सपोर्ट नै सबैभन्दा ठूलो सम्पत्ति रहेछ । जो मैले पाएकी छु । दर्शकको माया पाउँदा फुरुङ्ग छु ।











