काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–चीन सिमानाका कोरोला नाकालाई स्तरोन्नति गर्दै व्यवस्थित ढंगले सञ्चालन गर्न नेपाल सरकारसँग आग्रह गरे ।

गण्डकी प्रदेश समिति र स्थानीय उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरूसँग कोरोला नाका निरीक्षणपछि अध्यक्ष ढकालले सरकारसँग पूर्वाधार विकास, भन्सार तथा अध्यागमन सेवा स्थापनाका लागि सक्रिय पहल गर्न आग्रह गरका हुन् ।
उनले भने, “कालीगण्डकी करिडोर निर्माण सकिएपछि कोरोला नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग बन्नेछ। यसलाई त्रिदेशीय व्यापार, पर्यटन र आर्थिक समृद्धिको माध्यम बनाउनु अत्यावश्यक छ। ढकालका अनुसार हाल भर्खर सुरु गरिएको भन्सार कार्यालयले मात्र १२ दिनमै रु १ अर्ब ४० करोड राजस्व संकलन गरिसकेको छ, जसले नाकाको सम्भावना र महत्त्व स्पष्ट गर्छ।
उनले भन्सार र अध्यागमन सेवा स्थायी रूपमा सञ्चालन गर्न, आवश्यक जनशक्ति र पूर्वाधार व्यवस्थापन गर्न तथा नाकाको आसपास बसोबास सम्भव नभएमा निचुङ क्षेत्रमै पूर्वाधार बनाउने विकल्पमा ध्यान दिन सरकारलाई सुझाव दिए ।
पर्यटन सम्भावनाबारे बोल्दै उहाँले भन्नुभयो, “कोरोला नाका भएर चीनको ल्हासाबाट एकै दिनमा नेपाल आउन सकिन्छ। यो मार्ग मानसरोवर तथा मुक्तिनाथ पुग्न चाहने नेपाली, भारतीय र चिनियाँ पर्यटकका लागि छोटो र सहज विकल्प हो।”
ढकालले माथिल्लो मुस्ताङ प्रवेशमा विदेशी पर्यटकलाई लाग्ने ५०० अमेरिकी डलरको शुल्क अव्यवहारिक भएकाले तत्काल पुनर्विचार गर्नुपर्ने माग समेत गरे।
उनले कालिगण्डकी करिडोर छिटो सम्पन्न गर्न र कोरोला नाका दिगो रूपमा सञ्चालन गर्न सरकारसँग निजी क्षेत्रको तर्फबाट सहयोग गर्न महासङ्घ तयार रहेको स्पष्ट पारे।














