काठमाडौं । चीनका पूर्व कृषिमन्त्री ताङ रेनजियानलाई भ्रष्टाचार मामिलामा मृत्युदण्डको सजाय सुनाइएको छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, ताङले सन् २००७ देखि २०२४ सम्म विभिन्न पदमा रहँदा ५ अर्ब ७ करोड रुपैयाँभन्दा बढी नगद र सम्पत्ति घुसस्वरूप लिएको पाइएको हो ।

यद्यपि, उनलाई दुई वर्षको समयावधि दिइएको छ । अदालतले आफ्नो फैसलामा ताङलाई उनका राजनीतिक अधिकारहरूबाट वञ्चित गरेको छ । अदालतले ताङको सम्पूर्ण सम्पत्ति जफत गरिने र घुसमार्फत संकलन गरिएको सम्पत्ति राष्ट्रकोषमा जम्मा गरिने फैसला गरेको छ ।
घुसप्रकरणले देश र जनताको हितमा ठूलो क्षति पुर्याएकोले ताङलाई मृत्युदण्ड दिइएको अदालतले जनाएको छ । सिन्ह्वाका अनुसार, ताङले आफ्ना अपराध स्वीकार गरेका छन् र पश्चाताप पनि गरेका छन् । यो सजायलाई राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरुद्धको अभियानको हिस्सा भनिएको छ । यसअन्तर्गत धेरै ठुला नेताहरूलाई सजाय भइसकेको छ।
आलोचकहरू यसलाई सीले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउने हतियारका रूपमा प्रयोग गरिरहेको बताएका छन् । ताङ यसअघि गान्सु प्रान्तका गभर्नर र ग्वाङ्सी स्वायत्त क्षेत्रका उपाध्यक्ष पनि रहिसकेका छन्। उनका पछि पूर्व रक्षा मन्त्रीहरू ली शाङफु र वेई फेङहे पनि भ्रष्टाचार अनुसन्धानको दायरामा परेका छन् ।











