
काठमाडौं । इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई विधिवत् रूपमा जीवित देवी (कुमारी) का रूपमा स्थापित गरिएको छ ।
आज मध्याह्नको शुभसाइतमा विशेष बाजागाजासहित उनलाई कुमारी घरमा प्रवेश गराई आसन ग्रहण गराइएको हो । त्यसपछि तलेजु भवानीको दर्शनका लागि मन्दिर यात्राको तयारी गरिएको छ ।
कुमारीलाई महालक्ष्मीको प्रतीक मानिन्छ । आर्यतारालाई गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सम्बन्धित पक्षसँगको परामर्शपछि कुमारीका रूपमा चयन गरिएको हो । छनोट प्रक्रियाका लागि विभिन्न बहालहरूलाई नाम सिफारिस गर्न पत्राचार गरिएको थियो ।
विधिवत् प्रक्रिया पूरा गरेर उनलाई नयाँ कुमारी घोषित गरिएको छ । नयाँ कुमारीको आसन ग्रहणसँगै अघिल्लो कुमारीको पनि विधिवत् बिदाइ गरिएको छ । कुमारी परम्परा तत्कालीन राजा जयप्रकाश मल्लले सुरु गरेको मानिन्छ । यो परम्परा नेपालको सांस्कृतिक र धार्मिक पहिचानको महत्त्वपूर्ण हिस्सा हो, जसले जीवित देवीको रूपमा कुमारीलाई सम्मान गर्ने प्रचलनलाई जीवन्त राख्छ । नयाँ कुमारीको चयनले यो ऐतिहासिक परम्परालाई निरन्तरता दिएको छ ।














