लन्डन । लन्डनको ट्याभिस्टक स्क्वायरमा रहेको महात्मा गान्धीको प्रतिमा तोडफोड गरिएको छ । भारतीय उच्चायोगले यो घटनाको कडा निन्दा गर्दै यसलाई अहिंसा र गान्धीको विरासतमाथिको आक्रमण भएको जनाएको छ । प्रतिमा सोमबार तोडफोड गरिएको हो ।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जारी विज्ञप्तिमा उच्चायोगले यो लज्जास्पद कार्यलाई अन्तर्राष्ट्रिय अहिंसा दिवस (२ अक्टोबर) को तीन दिनअघि भएको हिंसात्मक घटनाको रूपमा उल्लेख गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार, यो तोडफोड गान्धी जयन्ती समारोहको केही दिनअघि भएको हो ।
भारतीय उच्चायोगले स्थानीय अधिकारीहरूसँग तत्काल कारबाहीका लागि पहल गरेको र आफ्नो टोलीले घटनास्थलमा पुगी मूर्तिको गरिमा पुनर्स्थापित गर्न समन्वय गरिरहेको जनाएको छ । उच्चायोगले भनेको छ, ‘यो केवल मूर्तिमाथिको आक्रमण होइन, बरु गान्धीले अवलम्बन गरेको अहिंसाको सिद्धान्तमाथिको हमला हो ।’











