काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालले सरकारलाई आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पूर्ण रूपमा केन्द्रित हुन आग्रह गरेको छ । सङ्घका अध्यक्ष क्षितिज थेबेले मङ्गलवार जारी विज्ञप्तिमा सरकारलाई यो जिम्मेवारीमा सफल बनाउन सङ्गठन प्रतिबद्ध रहेको उल्लेख गर्दै राजनीतिक प्रतिशोधका गतिविधि तत्काल रोक्न चेतावनी दिएका छन् ।

थेबेले जेनजी पुस्ताका मागप्रति सङ्घ सचेत रहेको बताउँदै ती माग सम्बोधनका लागि निरन्तर पहलकदमीमा रहेको स्पष्ट पारे । विज्ञप्तिमा भनिएको छ, ‘जेनजी आन्दोलनको जगमा बनेको सरकारको मुख्य दायित्व निष्पक्ष निर्वाचन गराउनु हो । हामी सरकारलाई यो कार्यमा सहयोग गर्न तयार छौँ ।’
सङ्घले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राहदानी रोक्का गर्ने सरकारी निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ । कुनै प्रमाण वा अनुसन्धानबिना यस्तो कदम चाल्नु पूर्वाग्रहपूर्ण र अराजनीतिक भएको सङ्घको ठहर छ । यस्तै, एमाले नेता महेश बस्नेतमाथि मुद्दा चलाउने प्रयासको पनि विरोध गर्दै यस्ता प्रतिशोधपूर्ण कार्य रोक्न माग गरेको छ ।
गृह मन्त्रालयको भदौ २४ को विध्वंसकारी गतिविधिमा संलग्नलाई कारबाही नगर्ने निर्णयप्रति पनि सङ्घले आपत्ति जनाएको छ । यस्ता निर्णयले दण्डहीनतालाई बढवा दिने र कानुनी शासनको उपहास गर्ने भन्दै तत्काल सच्याउन आग्रह गरेको छ । जेनजीका मुद्दा समाधान र लोकतान्त्रिक बाटोमा मुलुकलाई डोर्याउन सरकारलाई सुझाव दिँदै सङ्घले राजनीतिक पूर्वाग्रह त्यागेर निर्वाचनमा केन्द्रित हुन चेतावनी दिएको छ ।















