Logo
Logo

कोभिड–१९ रुसी खोप : नेपालीका लागि हर्ष न विष्मात ?


- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)


  • रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

पश्चिमा राष्ट्रहरुद्वारा कोरोना खोपको निर्माणमा सफलता हासिल गरिरहेको र उनीहरुले विश्वास गरेको अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाको सहकार्यमा खोप निर्माण भइरहेको समाचारले विश्वमा प्रमुखता पाएको छ । तर यसैबीच, कोरोना खोपको तेस्रो चरणको परीक्षण स्थगित भएको खबर बाहिर आएको छ । कोरोना संक्रमित मुलुकहरुमा अमेरिकापछि ब्राजिललाई पछि पार्दै दोस्रो बन्न पुगेको छिमेकी भारतमा समेत यसको तेस्रो चरणको परीक्षण भइरहेको थियो । भारत सरकारको आदेशमा अहिले यसको परीक्षण रोकिएको छ ।

यो परीक्षणमा सहभागी एक बेलायती नागरिक बिरामी भएपछि यो खोप परीक्षण रोकिएको थियो । हाल पुनः परीक्षण शुरु गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले श्रावण २७ गते नै आफ्नी छोरीलाई पहिलो खोप लगाएर रुसले पहिलो खोप (स्पूतनिक–५) बनाएको घोषणा गरेका थिए । त्यसलगत्तै काठमाडौंस्थित रूसी राजदूत एलेक्सेइ ए नोभिकोभले भाद्र २ गते राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग सिंहदरबारमा शिष्टाचार भेट गर्दै कोरोना भाइरसविरुद्धको भ्याक्सिन तयार भइसकेको र नोभेम्बरबाट बजारमा आउने जानकारी गराएका थिए । र, नेपालले चाहेमा नेपाललाई प्राथमकितामा राखेर उक्त भ्याक्सिन उपलब्ध गराउन सकिने, र नेपालमै खोप उत्पादन गर्न सहयोग गर्ने कुरा पनि बताएका थिए ।

अक्सफोर्ड विश्वविद्यालयद्वारा निर्माण भइरहेको कोरोना खोपको परीक्षण रोकिएर पुनः परीक्षण शुरु भएपछि अब विश्वको ध्यान रुसी कोरोना खोप स्पूतनिक–५ तर्फ गएको छ । रुसी डाइरेक्ट इन्भेस्टमेन्ट फण्डका सिईओ किरिल दिमित्रिभले यसै महिना भारतसहितका देशमा भ्याक्सिनको परीक्षण सुरु हुने बताएका छन् । रुसले यसअघि नै युएई, साउदी अरेबिया, इन्डोनेशिया, फिलिपिन्स, मेक्सिको, ब्राजिल, भारतसहितका कम्तीमा २० देशले परीक्षणका लागि इच्छा देखाएको जनाएको थियो । भ्याक्सिन लिइसकेका रुसका रक्षामन्त्री सर्जेइ सोइगुले आफूले कुनै साइड इफेक्ट महसुस नगरेको र ‘मैले सबै सहज महसुस गरेको छु’, भनेका छन् ।

‘मलाई कुनै साइड इफेक्ट वा उच्च तापक्रम महसुस भएन । म सबैलाई भ्याक्सिन लगाउन सल्लाह दिन्छु,’ शनिबार उनले रुसी टेलिभिजनमार्फत भने । यसअघि विश्वको सबभन्दा पुरानो बेलायतको प्रतिष्ठित मेडिकल जर्नल द लान्सेन्टले प्रकाशित गरेको रिर्पोटमा सबै सहभागीहरुमा एन्टिबडिज विकास भएको उल्लेख थियो । त्यस्तै, भ्याक्सिनको कुनै साइड इफेक्ट नदेखिएको रिपोर्टमा उल्लेख थियो । तर, भ्याक्सिनको प्रभावकारिताको पूर्ण जाँच गर्न अझै धेरै जनामा परीक्षण गर्न आवश्यक रहेको यस अध्ययन रिपोर्टले सुझाएको थियो । रुसले सन् २०२० सम्म २२ करोड डोज भ्याक्सिन उत्पादन गर्ने योजना राखेको छ । रुसले यो खोप आफ्ना नागरिकहरुलाई प्रयोगमा ल्याउन शुरु गरिसकेको छ ।

विश्वको सबभन्दा ठूलो खोप उत्पादक मुलुक भारत छिटोभन्दा छिटो आफ्नो मुलुकमा यो खोप भित्र्याउन व्यग्र छ । किनभने, भारतमा कोरोना संक्रमितको संख्या तीव्रगतिले वृद्धि भइरहेको छ । यसका लागि दुवै देशका सरकार र खोप उत्पादक कम्पनीहरु सघन छलफलमा छन् । किनभने, ठूलो परिमाणमा खोप उत्पादन गर्ने क्षमता रुससँग छैन र, भारत विश्वकै सबभन्दा ठूलो औषधि निर्यातक मुलुक पनि हो । आफ्नो खोपलाइ विश्वबजारमा पु¥याउनका लागि रुसलाई भारतसँग सहकार्य आवश्यक छ । भारतीय औषधि निर्माता कम्पनीहरुलाई यो एउटा ठूलो अवसर पनि हो । चीनद्वारा विकसित गरिएको भनिएको कोरोना खोपको मूल्य १२ देखि १५ हजार नेपाली रुपैयाँ पर्ने बताइएको छ । यही खोप भारतमा निर्माण भएमा चार÷पाँच सय रुपैयाँ मात्र पर्नेछ ।

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड र मृत्यु हुनेको संख्या १० लाख पुग्न लागेको छ । नेपालमा संक्रमितको संख्या ५५ हजार र मृत्यु हुनेको संख्या ३३६ नाघेको छ । मृतकको संख्या बढ्दो छ । सम्पूर्ण विश्व र नेपालको यस्तो भयावह अवस्थामा रुसी खोपको विकासले एउटा आशाको किरण पलाएको छ ।

हालका दिनहरुमा रुसले विश्व राजनीतिमा आफ्नो पकड देखाउँदै आएको संकेत देखापरेको छ । गत साता चीन र भारतबीच चर्केको सीमा विवाद मत्थर पार्न मस्कोमा चिनियाँ विदेशमन्त्री वाङ यी र उनका समकक्षी भारतीय विदेशमन्त्री एस जयशंकरबीच पाँच बुँदे सहमति भएको छ । यो भन्दा पहिले पनि चीनका रक्षामन्त्री वेइ फेङ र उनका भारतीय समकक्षी राजनाथ सिंहबीच मस्कोमै वार्ता भएको थियो । यी दुवै भेट मस्कोमा भएको संघाइ सहयोग संगठन (एससीओ) को मौका पारेर रुसको सक्रियतामा भएको थियो । चीन र भारतबीच तनाव कम भएबाट दक्षिण एशियाका साथसाथै सम्पूर्ण विश्वको राजनीतिमा सकारात्मक असर पर्नेछ ।

रुसको विश्व राजनीतिमा सक्रिय हुने चाहनाअनुरुप नै हुनसक्छ, रुसले आफ्नो पुरानो मित्र देश नेपाललाई आफूले कोरोना खोपको विकास गर्नासाथ नेपाललाइ दिने र उत्पादनमा समेत सघाउने वचन दिएको छ । त्यसको कार्यान्वन्यन गर्नेतर्फ नेपाल सरकारले हालसम्म पनि कुनै प्रतिक्रिया दिएको छैन ।

नेपालले रुसबाट यो खोप नेपाल भित्र्याउने कामको थालनीका साथै खोप उत्पादनतर्फ पनि ध्यान दिनुपर्छ । नेपाल सरकारको पहल भएमा निजी क्षेत्रका औषधि उत्पादकहरुले यो खोप उत्पादन गर्न सक्छन् । जुन कुराले नेपाल र नेपालीका लागि मात्र नभई विश्वका लागि पनि नेपाल सक्षम राष्ट्र हो भन्ने सन्देश प्रवाह हुनेछ । रुसी राजदूत नोभिकोभले रुसी सरकारको आशय बुझेरै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनासँग नेपालले खोप उत्पादन गर्न सक्ने कुरा उठाएका हुन् भन्ने कुरा बुझ्न नेपाल सरकारले ढिलाइ गर्नु हुँदैन । छिमेकी भारतमा कोरोना महामारीका रुपमा फैलिएको र खुला सीमा भएकोले त्यसको असर नेपालमा पनि पर्छ । त्यसैले अन्य उपचार विधिका साथै रुसी सरकारकै सहयोगमा खोप उत्पादन गर्न सकियो भने नेपाली जनता ढुक्क हुने थिए । त्यसले देशको आर्थिक विकासलाई पनि टेवा पु¥याउने थियो । अहिले रोगले भन्दा भोकले मर्ने डर नेपाली जनतामा छ । त्यसैले ढुक्कसँग काम गर्ने वातावरण नबनेसम्म नेपाली श्रम बजार ठप्प हुने पक्का छ । यसबाट श्रमजीवी जनतालाई जोगाउन पनि सरकारले खोप भित्र्याउने र उत्पादन गर्ने काम सँगसँगै थाल्नुपर्छ । रुसले उत्पादन गरेको खोप नेपाल र नेपाली जनताका लागि हर्ष न विष्मात नबनोस् ।

Twitter:@rmshghimire

प्रतिक्रिया दिनुहोस्