धनुषा । मधेसका अधिकांश जिल्लामा शुक्रबार रातिदेखि लगातार भइरहेको मुसलधारे वर्षाले जनजीवन प्रभावित बनेको छ ।

दसैँको बेला झरी नरोकिन्दा नागरिक घरमै थुनिएका छन् । अत्यावश्यक काम गर्नसमेत कठिन भएको छ ।
जनकपुरधामको धेरैजसो बस्ती, बजार, र सरकारी कार्यालयहरू जलमग्न भएका छन् । प्रमुख सडक र आवासीय क्षेत्रहरूमा पानी जमेको छ । पानी निकास नहुँदा समस्या झनै गम्भीर बनेको जनकपुरधाम नगर प्रमुख मनोज साहले बताएका छन् ।
मुख्यमन्त्री सतिशकुमार सिंहले बाढीको जोखिम बढेको भन्दै सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिएका छन् । बागमती नदीमा पानीको बहाव खतराको तह पार गरिसकेको छ र बैराजका सबै ढोका खोलिएका छन् ।
हालसम्म मानवीय क्षति नभए पनि जिल्ला प्रशासन र सुरक्षाकर्मी सतर्क छन् । खोला किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ । जनकपुरधामबाट काठमाडौँ जाने सवारीसाधन ठप्प छन् भने बजार, विद्यालय, र अन्य सेवा बन्द छन् । बिजली र मोबाइल नेटवर्कमा समेत समस्या आएको छ।














