काठमाडौं । आज आइतबार राति पनि मुग्लिन-नारायणगढ सडकमा सवारी साधन चलाउन नपाइने भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले सूचना जारी गरेर आज आइतबार साँझ ६ बजेदेखि रातभर सवारी सञ्चालन रोक लगाएको जनाएको छ ।

चितवन प्रहरीले साँझ ६ बजेभित्र यस क्षेत्र भएर सवारी सञ्चालन गर्नेलाई गन्तव्यमा पुगिसक्न र यस क्षेत्र कटिसक्न भनेको छ ।
मौसम पूर्वानुमानलाई ध्यानमा राखेर पहिरोको जोखिम रहेको यस सडक खण्डमा रातको समयमा सवारी सञ्चालनमा कडाइ गरिएको हो । चितवन र आसपासमा गएरातिदेखि नै पानी नपरे पनि पहिरोको जोखिम कायमै रहेको जनाइएको छ ।
यसअघि शनिवार पनि साँझ ६ बजेदेखि रातभर सवारी सञ्चालनमा रोक लगाइएको थियो । साँझ ६ बजेपछि काठमाडौं, पोखरातर्फ जान आएका सवारीलाई होल्डिङ सेन्टरमा राखिने भएको छ ।
यस सडकखण्डको तुइन खोलामा पहिरोको उच्च जोखिम छ । प्रहरीले अत्यावश्यक सवारी चलाउनै पर्ने भए सम्बन्धित क्षेत्रका सुरक्षा अधिकारीहरूसँग समन्वय गर्न पनि भनेको छ ।














