Logo
Logo

सिरहामा बाढी र डुबानको जोखिम कायमै


630
Shares

सिरहा ।  लगातारको वर्षाले सिरहामा बाढी र डुबानको जोखिम कायमै रहेको छ । हालसम्म ठूलो जनधनको क्षति नभए पनि प्रशासन र सुरक्षा निकायहरूले उच्च सतर्कता अपनाउन आग्रह गरिरहेका छन् ।

The current image has no alternative text. The file name is: Badhi.jpg

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अन्नतराम शर्माका अनुसार वर्षाका कारण केही क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । हुलाकी सडकअन्तर्गत सहजा खोलामा पानीको बहाव बढेपछि औरही र बरियारपट्टि चौकबाटै सवारीसाधनलाई ‘डाइभर्ट’ गरिएको छ । प्रहरी टोलीहरू संवेदनशील स्थानहरूमा परिचालन गरिएका छन् ।  

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले कमला, गागन, बलान, सरे, खुट्टीलगायतका नदी तथा खोलामा पानीको बहाव सामान्य भए पनि लगातारको वर्षाका कारण बहाव कुनै बेला पनि बढ्न सक्ने खतरा रहेको बताए । ‘हामी सबै जोखिमयुक्त क्षेत्रहरूमा निगरानी गरिरहेका छौँ । नागरिकलाई सतर्क रहन अनुरोध छ ।’

प्रमुख जिल्ला अधिकारीसहितको टोलीले आज कमला नदी क्षेत्रको निरीक्षण गरेको छ । कतिपय जोखिमयुक्त ठाउँमा कटान रोक्न बालुवाले भरिएका बोराहरूको प्रयोग गरी अस्थायी बाँध बनाइएको प्रजिअ अधिकारीले जानकारी दिए । 

यहाँका स्थानीय तहले पनि सक्रियता देखाएका छन् । लहान नगरपालिका प्रमुख महेशप्र्रसाद चौधरीले आज वडा नं १६ को झिरहरि खोला र वडा नं ४ का सुन्दरपुर, इस्लामपुर बस्तीको निरीक्षण गरेका छन् । नगरपालिकाले पानी जमेको ठाउँहरूमा निकासको काम गरिरहेको नगरप्रमुख चौधरीले जानकारी दिए । 

यस्तै, स्थानीय प्रशासनले नदी तथा खोलाका आसपासका बासिन्दालाई सतर्क रहन, जोखिम महसुस भए सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्