काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आगामी फागुन २१ गते हुने चुनावमा भाग लिने भएको छ । सोमबार पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकले निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।

सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनावमा जाने निर्णय गरेका गरेको बताएका हुन् । प्रचण्डले निर्वाचनमा जाने विषयमा अरू पार्टीहरूसँग पनि छलफल भइरहेको बताएका छन् ।
संयोजक प्रचण्डले सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा माओवादी रहेको पनि बताए । उनले भने, ‘हामी कसरी अघि बढ्ने भन्ने कुरामा केन्द्रीय समितिबाट निर्णय गरिसकेका छौँ । हामी घोषित मितिमा चुनाव हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने छ । हाम्रो पार्टी सक्रियतासाथ निर्वाचनमा भाग लिन्छ । अहिले अन्य राजनीतिक दलहरूसँग पनि छलफल भइरहेको छ । केही समयपछि त्यसको परिणाम पनि देखिन्छ ।’














