काभ्रेपलाञ्चोक । असोज १८ र १९ गतेको वर्षापछि आएको रोशी खोलाको बाढीले बगाएको बीपी राजमार्गको डाइभर्सन पुनस् बनाउन सुरु गरिएको छ ।

नमोबुद्ध र रोशी गाउँपालिकाको सिमानास्थल चौकीडाँडाबाट बगेका डाईभर्सन बनाउन सुरु भएको हो । खोलाको बहाव केही कम भएपछि डाइभर्सन बनाउन सुरु गरिएको हो ।
सडक डिभिजन कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबद्ध नगरपालिकाको समन्वयमा पानीको बहाव कम हुँदै गएसँगै राजमार्गमा बगेको डाइभर्सन पुनस् निर्माण गर्न लागेको हो ।
पुनस् निर्माणको कार्य ३/४ स्थानबाट शुरु गर्ने तयारी भइरहेको छ । रोशी खोलाको किनारै किनार सडक लैजानुपर्ने र पानीको धार पनि भित्तासम्मै टासिएको हुनाले सडकको डाइभर्सन पुनस्निर्माणमा समस्या देखिएको जनाइएको छ ।
डाइभर्सन बनाउन सुरु गर्नुअघि सरोकारवालाबीचमा एक अर्कालाई सहयोग गर्ने निर्णय भएको छ । नमोबद्ध नगरपालिका नगर प्रमुख कुन्साङ लामा, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा र सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गा प्रसादको विचमा चाँडो भन्दा चाँडो बीपी राजमार्ग खुलाउन, आवश्यक पर्ने पुलहरू निर्माणको लागि विशेष पहल गर्ने सहमति भएको छ ।
बीपी राजमार्गको रोशीखोला क्षेत्रमा गत वर्ष असोजमा आएको बाढीले बगाएपछि बनाइएको अस्थायी डाइभर्सन यस वर्षको असोज १८ देखि १९ गतेको वर्षा पछि आएको बाढीले पुनस् बगाइदिएपछि अहिले बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।














