Logo
Logo

रौतहटमा बाढीले ४१२ परिवार विस्थापित, सरकारी कार्यालयसमेत डुबानमा


693
Shares

रौतहट । गत शनिबार र आइतबार परेको अविरल वर्षाले रौतहट जिल्लामा ठूलो क्षति पुर्‍याएको छ।

सदरमुकाम गौरसहितका विभिन्न क्षेत्र जलमग्न भएका छन् । बागमती नदी पूर्व र लालबकैया नदी पश्चिममा आएको बाढीले गौर बजार क्षेत्रमा पसेपछि यहाँ डुबानको अवस्था अझै कायम छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नेत्रमणी गिरीका अनुसार हालसम्म ४१२ परिवार बाढीका कारण विस्थापित भएका छन्। तीमध्ये सबैभन्दा बढी दुर्गा भगवती गाउँपालिकाका २३६ परिवार छन्, जहाँ एक हजारभन्दा बढी घरहरूमा बाढी पसेको थियो। विशेषगरी झाझ खोला र बागमती नदीको बीचमा पर्ने वडा नं. ४ पचरुखी र वडा नं. ५ बर्डहवा अति प्रभावित छन्। बाढीले धानजस्ता बालीसमेत नष्ट गरेको छ ।

त्यस्तै, गौरसँगै जोडिएको राजदेवी नगरपालिकामा ८९ परिवार विस्थापित भएका छन्। यहाँ पनि वडा नं. ८ र ९ सबैभन्दा बढी प्रभावित भएका छन् । बाढीको प्रभाव गौर, राजपुर, गुजरा, कटहरिया, इशनाथ, माधव नारायण, गढीमाई, वृन्दावन, मौलापुर, फतुवा विजयपुर नगरपालिका र यमुनामाई गाउँपालिकासम्म फैलिएको छ ।

सडक यातायात प्रभावित

बाढीका कारण जिल्लाका प्रमुख सडक अवरुद्ध भएका छन्। गौर भन्सारदेखि बिपीचोकसम्मको सडकखण्ड जलमग्न भएको छ। मौलापुर–सोनारनिया–हरनहिया–कलैया जोड्ने मुख्य सडक बाढीले बगाएपछि यातायात पूर्णरूपमा बन्द भएको प्रहरी उपरीक्षक गिरीले जानकारी दिए। भारी वर्षासँगै आएको बाढीले कालोपत्रे सडकसमेत बगाएको छ।

सरकारी कार्यालय डुबानमा

बाढीका कारण गौरस्थित अधिकांश सरकारी कार्यालयहरू डुबानमा परेका छन् । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार मङ्गलबारदेखि कार्यालय खोल्न निर्देशन दिइएको भए पनि सेवा लिन आउने नागरिकका लागि अवस्था उपयुक्त छैन । जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, गौर नगरपालिका, पूर्वाधार, जिल्ला अदालत, सरकारी वकिल, गौर भन्सार, निर्वाचन कार्यालय, हुलाक कार्यालयलगायतका कार्यालयहरू बाढीको पानीमा डुबेका छन् ।

सुरक्षानिकाय र क्षति विवरण

सशस्त्र प्रहरी बल नेपाल ११ नं. हेडक्वार्टर हजमनिया पूर्ण रूपमा डुबानमा परेको सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीले जानकारी दिएका छन् । यस्तै, लक्ष्मीपुर बेलबिछुअवा, गौर, औरैया, सरमजुअवास्थित सशस्त्र प्रहरी बलका बोर्डर आउटपोस्ट बीओपी कार्यालयहरू पनि डुबानमा परेका छन् ।

बाढी र अन्य प्राकृतिक विपद्बाट रौतहटमा हालसम्म ४ जनाको ज्यान गइसकेको छ । तीमध्ये एक जना व्यक्ति नदीमा डुबेर तथा तीन जनाको मृत्यु चट्याङ लागेर भएको प्रहरीले पुष्टि गरेको छ।

प्रतिक्रिया दिनुहोस्