Logo
Logo

१३ दिनदेखि नेप्सेका अध्यक्ष र सीईओको कार्यकक्षमा ताला


567
Shares

काठमाडौं । राजीनामा माग्दै आन्दोलनमा उत्रिएका नेपाल स्टक एक्सचेन्जका कर्मचारीहरूले आन्दोलनलाई दसैँपछि पनि निरन्तरता दिएका छन् । नेप्से सिध्याउने खेलमा नेप्सेकै अध्यक्ष र सीईओ लागेको आरोपसहित आन्दोलनमा उत्रिएका कर्मचारीहरूले आज सोमबार पनि उनीहरूको कार्यकक्षमा लगाएको ताला यथावत् राखेका हुन् । 

The current image has no alternative text. The file name is: Nepse-1.gif

कर्मचारीहरूले अध्यक्ष हेमन्त बस्याल र सीईओ चूडामणि चापागाईंले स्वार्थसमूहलाई फाइदा पुग्ने गरी नेप्से सिध्याउनतिर लागेको भन्दै असोज ७ गतेबाट दुवैको राजीनामा माग्दै कार्यकक्षमा ताला लगाएका थिए । 

त्यसयता निरन्तर कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका कर्मचारीहरूले माग सम्बोधन नभएसम्मका निरन्तर आन्दोलन गर्ने जनाएका छन् ।  नेप्से कर्मचारी सङ्घले असोज ८ गते विज्ञप्ति जारी गर्दै ६ महिनाअघि नियुक्त भएका अध्यक्ष बस्यालले नेप्सेलाई सुधार्नुको साटो थप कमजोर बनाउने काम गरेको आरोप लगाएका छन् ।

अध्यक्ष हेमन्त बस्यालको कन्सल्टेन्सी र नेप्सेबीच पुरानो भुक्तानी विवाद रहेकै अवस्थामा उनी नेप्सेको अध्यक्षमा स्वार्थ बाझिने गरी नियुक्त भएको र सोलगत्तै उनले पुरानो हिसाब मिलाउने गलत उद्देश्यसहित नेप्सेमा प्रवेश गरेर समग्र संस्थालाई नै कमजोर बनाएको कर्मचारीहरूको आरोप रहेको छ । 

अध्यक्षले ६ महिना बितिसक्दा समेत नेप्से पुनर्संरचना गर्न कुनै कदम नचाले पनि कर्मचारीहरूले विरोध जनाएका छन् । कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अर्थ मन्त्रालयमा पेस गरेको नेप्से पुनर्संरचना प्रस्तावलाई असफल बनाउन उनी सक्रिय देखिएको र सञ्चारमाध्यममा नेप्सेको स्वामित्वमा पुनर्संरचना हुनुहुँदैन भन्ने अभिव्यक्ति दिँदै सुधारको नाममा सतही परिवर्तन मात्र गर्ने तर मूल समस्यालाई जस्ताको तस्तै राख्ने रणनीति अपनाइएको देखिन्छ । यसले सर्वसाधारणमा नेप्सेले केही गर्न सक्दैन भन्ने सन्देश जाने र स्वार्थी व्यापारी समूहलाई फाइदा पुग्ने स्पष्ट छ ।’ 

उनीहरूले नेप्सेमा हुने ठुला खरिद प्रक्रियामा अनावश्यक हस्तक्षेप गर्ने, कमिसन लिएर तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई चढाउने स्वार्थसहित अध्यक्ष बस्याल नेप्सेमा प्रवेश गरेको आरोप लगाइएको छ ।

दसैँ सकिए पनि कर्मचारीहरूले आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । कर्मचारीहरूले नेप्सेका कुनै काम प्रभावित नहुने गरी विरोध स्वरूप हातमा कालोपट्टी बाँध्ने तथा सीईओ र अध्यक्ष दुवैको कार्यकक्षमा ताला लगाएर आन्दोलनलाई निरन्तरता दिने योजना बनाएका छन् । 
 

प्रतिक्रिया दिनुहोस्