काभ्रे । अविरल वर्षा र पहिरोका कारण काभ्रेपलाञ्चोकका खानीखोला, महाभारत, रोशी र बेथानचोक गाउँपालिकामा सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध भएका छन् ।

दशैं मनाएर फर्किन लागेका धेरै नागरिक आवागमन बन्द हुँदा गाउँमै अड्किएका छन् ।
सडक खुलाउन डोजर उपलब्ध भए पनि डिजेल अभाव र बाटोमै अवरोधले काम ढिलिएको खानीखोला अध्यक्ष इन्द्रबहादुर थिङले जनाएका छन् । केही सडक खोल्न काम सुरु भए पनि पूर्ण सञ्चालनमा आउन समय लाग्नेछ ।
महाभारत गाउँपालिका सम्पूर्णरूपमा सडक, विद्युत् र सञ्चार सेवाबाट विच्छेद छ । बीपी राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएकाले महाभारतसँग सम्पर्क टुटेको अध्यक्ष कान्छालाल जिम्बाले बताए ।
रोशी गाउँपालिकामा पनि बीपी राजमार्ग र गाउँभित्रका सडक अवरुद्ध छन् । केही वडामा समन्वयमार्फत सडक खुलाउने प्रयास भइरहेको छ भने अधिकांश क्षेत्रमा विद्युत् सेवा बन्द छ ।
बेथानचोक गाउँपालिकामा पनि सडक अवरुद्ध भएपछि पालिकाले मेसिनसहितको टोली परिचालन गरेको छ। विद्युत् सेवा मर्मत कार्य सुरु भएको छ ।
चारै पालिकामा स्थानीय सरकार सडक तथा सेवा पुनःस्थापनामा जुटिरहेको र नागरिकलाई धैर्य र सहयोगको अपिल गरिएको छ ।














