काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधवार विभिन्न मुलुकमा रहेका नेपाली राजदूत र नियोग प्रमुखहरूसँग भर्चुअल ब्रिफिङ लिने भएकी छन् । परराष्ट्र मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले पदभार ग्रहणपछि पहिलोपटक राजदूतहरूसँग सरकारको प्राथमिकता र निर्देशनबारे छलफल गर्न लागेकी हुन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले भने, ‘हाम्रा सबै राजदूत र नियोग प्रमुखहरूसँग भर्चुअल संवादको कार्यक्रम तय भएको छ ।’ यो संवाद नयाँ सरकार गठनपछि राजदूतहरूसँग सामूहिक रूपमा हुने पहिलो कुराकानी हो, जुन अपराह्नमा आयोजना हुनेछ ।
यसैगरी, परराष्ट्र मन्त्रालयले नेपालस्थित विदेशी नियोग प्रमुखहरूलाई सरकारको तर्फबाट ब्रिफिङ गर्ने तयारी गरेको छ । यद्यपि, उक्त ब्रिफिङको मिति भने तय भइसकेको छैन । विगतको प्रचलनअनुसार, नयाँ सरकार बनेपछि सरकारका प्राथमिकता र आपसी सहयोग तथा सहकार्यका लागि आग्रह गर्दै यस्तो ब्रिफिङ गरिन्छ ।














