काभ्रेपलाञ्चोक । काभ्रेको पाँचखाल नगरपालिका–६ स्थित दुलालथोकमा बस र ट्रक आपसमा ठोक्किँदा ८ जना घाइते भएका छन्, जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ।

काठमाडौंबाट बाह्रबिसे जाँदै गरेको बा २ ख ६५७९ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको सडक विभागको बा ५ ख ६८३ नम्बरको आइचर ट्रकलाई ठक्कर दिएको थियो। ठक्करका कारण ट्रक अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्रकमा सवार ६ जना र बसमा सवार २ जना यात्रु घाइते भएका छन्। प्रहरी निरीक्षक प्रशान्त तामाङका अनुसार ट्रकमा सवार काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका–६ का रेशम थापा, बेथानचोक गाउँपालिका–४ का ४३ वर्षीय लाइतलाल तामाङ र झापाका ५८ वर्षीय लालबहादुर राई गम्भीर घाइते भएका हुन्।
त्यसैगरी, चौतारा साँगाचोकगढी नगरपालिका–१ का ५८ वर्षीय शेरबहादुर तामाङ, फुर्वा तामाङ र भक्तपुर सूर्यविनायकका ५८ वर्षीय रामचन्द्र अधिकारी सामान्य घाइते भएका छन्।
बसमा सवार सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ का ७० वर्षीय युक्तबहादुर खत्री र बलेफी गाउँपालिका–६ का ६६ वर्षीय गोपिलाल पराजुली सामान्य घाइते भएका छन्।
घाइतेहरूको तत्काल उद्धार गरी पाँचखाल आधारभूत अस्पतालमा प्राथमिक उपचार गरिएको र त्यसपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बस चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तामाङले जानकारी दिएका छन्।














