कर्णाली । दसैँ पर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, सुर्खेतले रु एक करोडभन्दा बढी मूल्यको खाद्यान्न बिक्री गरेको छ।

भदौ ३० गतेदेखि सुपथ मूल्य पसलमार्फत बिक्री सुरु गरेको कम्पनीले दुई साताको अवधिमा रु १ करोड १३ लाख ५ हजार ७९१ बराबरको खाद्यान्न बिक्री गरेको हो । सुरुवाती दिनहरूमा दैनिक करीब रु १ लाखको कारोबार हुँदै आएकोमा दसैँको समय बढेपछि दैनिक बिक्री रु १५ लाखसम्म पुगेको प्रादेशिक प्रमुख केशवराज बुढाले जानकारी दिए ।
उहाँका अनुसार दसैँ र तिहारलाई लक्षित गर्दै १५ हजार ५०० क्विन्टल चामल, १७ हजार क्विन्टल चिनी र २२ हजार लिटर तेलको कोटा तोकिएको छ। हाल नागरिकहरूबीच आइरन, जिङ्क, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी–१२, थायमिन, नियासिन र पाइरिडक्सिनजस्ता पौष्टिक तत्वयुक्त फोर्टिफाइड सुदृढ चामलप्रति आकर्षण बढ्दै गएको उनले बताए ।
सरकारले कुपोषण न्यूनीकरणको लक्ष्यसहित कर्णालीका नौ जिल्लाका लागि चालु आर्थिक वर्षमा एक लाख क्विन्टल खाद्य अनुदान कोटा छुट्याएको छ।
कम्पनीका सूचना अधिकारी शोभा रेग्मीका अनुसार भदौ ३० यता ८३५ क्विन्टल चामल, १३१।११ क्विन्टल चिनी र १८ हजार ६६० लिटर तेल बिक्री भइसकेको छ । सुपथ मूल्य पसलमार्फत सहुलियत दरमा खाद्य वितरण सेवा कात्तिक १० गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।














