काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले पुनर्स्थापनको माग लिएर अगाडि बढ्ने बताएका छन् ।
भक्तपुर एमालेले गुण्डुमा गरेको कार्यक्रममा ओलीले लोकतन्त्रको पुनर्बहाली गर्नलाई प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘‘समयमा कदम चाल्न सकिएन भने पछि ढिला भएछ भनेर पछुतो मान्नुपर्ने हुन्छ । कतिपय मानिसहरू भन्छन् फागुन २१ गते चुनाव भएन भने त्यसपछि संसद् पुनर्स्थापनाको माग गरौंला, संसद् विघटन असंवैधानिक छ, गलत छ, गैरकानूनी छ, अलोकतान्त्रिक छ । यो देश हितका विरुद्धमा छ, हामीलाई थाहा छैन र ? पर्खनुपर्यो फागुन २१ गते ? पर्खनु परेको छैन ।’
प्रतिनिधिसभा पुनर्स्थापनाको मागमा जनता सडकमा आउने पनि उनले विश्वास गरे उनले भने, ‘हामी अगाडि बढ्ने बेला भएको छ । नेपाली जनता आन्दोलनको आँधी तुफान सिर्जना गरेर बढ्नेछ ।’
सुशीला कार्कीले प्रधानमन्त्री हुन अडान लिएकाले प्रतिनिधि सभा विघटन भएको प्रशंग उल्लेख गरे । ‘असंवैधानिक ढंगले संसद् विघटन गरिएको छ । संसद् विघटन गर्ने अधिकार, संविधान मिच्ने अधिकार कसले प्राप्त गर्यो ? कहाँबाट प्राप्त गर्यो ?’ उनले भने ।
संसद् र संविधान जोगाएर विकल्प दिन सवै पक्षमा सहमति भएपनि असंवैधानिक विघटन गरिएको पनि उनले बताए । ‘संविधान र संसद् कायम राखेर निकास खोजौं, त्यसमा त्यति बेलाको निर्णायक तत्वहरूको पनि सहमति थियो,’ ओलीले भने, ‘मसँग कुरा हुँदा संविधान कायम राख्ने संसद् कायम राख्ने र संविधान र संसद्भित्रबाट निकास खोज्ने सबैको सहमति थियो ।’














