काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले माइतीघर मण्डलाबाट पक्राउ परेका अभियन्ताहरूलाई तत्काल रिहा गर्न माग गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत शाहीले देश सुधारका माग राख्ने अभियन्ताहरूलाई पक्राउ गरिएकोमा आपत्ति जनाएका छन् ।

प्रहरीले जेनजी आन्दोलनका अभियन्ता डा.निकोलस भुसालसहित १८ जनालाई माइतीघर मण्डलाबाट पक्राउ गरेको थियो । उनीहरूले आफ्ना मागहरू पूरा नभएको भन्दै प्रदर्शन गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको छ ।
शाहीले अभियन्ताहरूको माग देश निर्माणका लागि भएको बताउँदै सरकारले उनीहरूलाई तुरुन्त रिहा गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘माइतीघर मण्डलाबाट पक्राउ परेका डा। निकोलस भुसालसहितका अभियन्ताहरूलाई सरकारले तत्काल रिहा गरोस्। उनीहरूको माग २०८४ को चुनाव २०८२ मा गर्न होइन, देश बनाउन हो ।’
उनले युवाहरूले देशमा परिवर्तनका लागि गरेको बलिदानको स्मरण गराउँदै सरकारले ती सपनाहरू पूरा गर्नुपर्ने बताए। शाहीले अभियन्ताहरूका मागहरू-प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेजी, संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द, राष्ट्रिय एकता कायम, र भ्रष्टाचारीहरूलाई सर्वस्वसहित कारबाही-सरकारले पूरा गर्नुपर्नेमा जोड दिए।यी मागहरू पूरा नभए देशभर आन्दोलन हुने र वर्तमान सरकार तथा व्यवस्थाले त्यसलाई थेग्न नसक्ने चेतावनी शाहीले दिए । ‘अब परिवर्तन भएरै छाड्छ, सम्झौताका नाममा धोका सहन सकिँदैन,’ उनले भने ।














