बेलग्रेड । महिनौँको ढिलाइपछि सर्बियाको रूसी स्वामित्वमा रहेको एनआइएस तेल कम्पनीमाथि बिहीबारदेखि अमेरिकी प्रतिबन्ध औपचारिक रूपमा लागू भएको छ । यो कम्पनी देशको एकमात्र रिफाइनरी सञ्चालन गर्ने प्रमुख एकाइ हो ।

सन् २०२२ मा मस्कोले युक्रेनमाथि आक्रमण गरेपछि रूसी ऊर्जा क्षेत्रमाथि नियन्त्रण कडाइ गर्न अमेरिकाले सर्बियाको पेट्रोलियम उद्योग एनआइएसलाई यस वर्षको जनवरीमा नै प्रतिबन्धको सूचीमा राखेको थियो । तर उक्त निर्णय कार्यान्वयनमा केही समय ढिलाइ भएको थियो ।
कम्पनीका अनुसार बिहीबार बिहान ६ बजेदेखि अमेरिकी अर्थ मन्त्रालयले दिएको विशेष इजाजतपत्रको म्याद सकिएपछि प्रतिबन्ध पूर्ण रूपमा लागू भएको हो ।
एनआइएसले भनेको छ, ‘हामी यो अवस्थाबाट पार पाउन प्रयासरत छौँ र अमेरिकी अर्थ मन्त्रालयसँग मिलेर प्रतिबन्ध सूचीबाट हट्ने पहल गर्दैछौँ ।’ कम्पनीले हालका लागि प्रशोधनका लागि पर्याप्त कच्चा तेल भण्डारण भएको र पेट्रोल पम्पहरूमा सबै प्रकारका इन्धन उपलब्ध रहेको स्पष्ट पारेको छ ।
राष्ट्रपति अलेक्सान्डर भुसिकले सोमबार चेतावनी दिँदै प्रतिबन्धले गम्भीर असर पार्ने बताएका थिए । उनका अनुसार यसको सबैभन्दा पहिले असर बैङ्किङ क्षेत्रमा देखिनेछ । उनले भनेका थिए, ‘संसारमा कुनै पनि बैङ्क अमेरिकाको प्रतिबन्ध उल्लङ्घन गर्ने जोखिम लिन तयार हुँदैन ।’
एनआइएसका अनुसार अब सर्बियाभित्रका पेट्रोल पम्पहरूले घरेलु कार्ड र नगद मात्र स्वीकार गर्नेछन् । विदेशी भुक्तानी कार्डहरूले ‘काम गर्न बन्द गर्ने’ अपेक्षा गरिएको छ । राष्ट्रपति भुसिकले कम्पनीको भविष्यबारे रुसका सेयर धनीहरूको सम्भावित विनिवेशबारे पनि वार्ता भइरहेको जानकारी दिए ।
बेलग्रेडका अर्थशास्त्री गोरान रादोसाभलजेभिकका अनुसार एनआइएसले सर्बियाको करिब ८० प्रतिशत डिजेल र पेट्रोल आपूर्ति गर्ने भएकाले प्रतिबन्धको असर व्यापक हुन सक्छ । उनले चेतावनी दिँदै भने, ‘यसले वित्तीय क्षेत्रदेखि कृषि र एयर सर्बियाको जेट इन्धन आपूर्तिसम्म असर पुर्याउन सक्छ ।’
उनका अनुसार वित्तीय संस्थाहरूले एनआइएससँग सबै कारोबार र सहयोग तुरुन्तै रोक्नुपर्नेछ, अन्यथा प्रतिबन्धित निकायसँग कारोबार गरेको बैङ्कको सूचीमा पर्ने जोखिम रहन्छ ।
रादोसाभलजेभिकका अनुसार सम्भावित समाधानका रूपमा कम्पनीबाट रूसी स्वामित्वको पूर्ण निकास विचार गर्न सकिन्छ, तर यो ‘अत्यन्त कठिन’ छ । उनले भने, ‘रुस आफ्नो सेयर बेच्न चाहँदैन । यद्यपि एनआइएस गाजप्रोमको राजस्वको सानो अंश हो, यसको राजनीतिक महत्त्व निकै ठूलो छ ।’
पश्चिमी दबाबका बाबजुद सर्बियाले मस्कोसँगको घनिष्ठ सम्बन्ध कायम राख्दै आएको छ । युरोपेली सङ्घ (इयु) मा सदस्यता खोजिरहे पनि सर्बियाले अझैसम्म रूसविरुद्ध प्रतिबन्ध लगाएको छैन ।
सर्बिया रूसी ग्यासमा अत्यधिक निर्भर रहेको छ । सन् २०२२ को वसन्तमा हस्ताक्षर गरिएको ग्यास आपूर्ति सम्झौता सकिन लागेकाले नयाँ सम्झौताका लागि वार्ता भइरहेको सरकारी स्रोतले जनाएको छ ।
हाल एनआइएसमा गाजप्रोम नेफ्टको ४५ प्रतिशत स्वामित्व छ, सर्बिया सरकारले करिब ३० प्रतिशत हिस्सा ओगटेको छ र बाँकी सेयर अल्पसङ्ख्यक लगानीकर्ताहरूको स्वामित्वमा रहेको छ ।











