काठमाडौं । नेपालमा पुराना राजनीतिक दलहरू सक्रिय बन्दै जाँदा सुरक्षा चुनौती बढेको विश्लेषण सुरक्षा प्रमुखहरूले गरेका छन् । बिहीबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले सुरक्षा अवस्थाको समीक्षा गरेका हुन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा रहेको केन्द्रीय सुरक्षा समितिको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्की छन् ।
जेनजी आन्दोलनबाट विस्थापित दलहरू पुनः सक्रिय हुँदा राजनीतिक गतिविधि, जुलुस र आमसभाले त्रिपक्षीय सुरक्षा जोखिम बढाएको निष्कर्ष उनीहरूले निकालेका छन् । जेनजी समूह, राजनीतिक दल र दुर्गा प्रसाईँको आन्दोलनका कारण सुरक्षा चुनौती थपिएको छ ।
जेनजीका केही समूहले पुराना दलहरूलाई चेतावनी दिइरहेका छन् भने एमालेले काठमाडौं केन्द्रित युवा गतिविधि र मोटरसाइकल जुलुसको तयारी गरेको छ । जेनजी अगुवा सुदन गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकविरुद्ध ज्यान मुद्दाको उजुरी दिएका छन् ।
जवाफमा एमालेनिकट विद्यार्थीले मेयर बालेन्द्र शाह र गुरुङविरुद्ध कारबाही माग गरेका छन् । प्रहरीले दुवै पक्षका उजुरी जाँचबुझ आयोगमा पठाएको छ ।
सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगमार्फत भदौ २३-२४ का घटनाको अनुसन्धान गरिरहेको छ । आन्दोलनका क्रममा १२ सय हतियार लुटिएको, १४,५५३ कैदी फरार भएको र ५,५३७ अझै फरार रहेकोले सुरक्षा चुनौती थपिएको छ । प्रहरी कार्यालयहरू पुनर्निर्माण नहुनु र प्रहरी सङ्ख्यामा कमीले पनि समस्या बढाएको छ ।











