काठमाडौं । फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । फिलिपिन्सको दक्षिण–पूर्वी तट नजिक ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार यो भूकम्प मिन्दानाओ टापुको पूर्वी तटबाट करिब १२३ किलोमिटर टाढा ५८.१ किलोमिटर गहिराइमा गएको हो । हालसम्म क्षतिको तत्काल विवरण नआएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यकले जनाएका छन् । भूकम्पपछि स्थानीय अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेको छ ।
फिलिपिन्सको भौगर्भिक तथा ज्वालामुखी संस्थानका अनुसार विनाशकारी र जीवन–खतरामा पार्ने सुनामी आउने सम्भावना रहेको भन्दै पूर्व र दक्षिणी तटीय क्षेत्रमा बस्नेहरूलाई तुरुन्तै सुरक्षित स्थानतर्फ सार्न आग्रह गरिएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ । उक्त संस्थाले भने भूकम्पको तीव्रता ७.६ म्याग्निच्युड मापन गरेको सिएनएनले जनाएको छ ।
अमेरिकी सुनामी चेतावनी प्रणालीका अनुसार फिलिपिन्सका केही भागमा १ देखि ३ मिटर अग्ला छालहरू देखा पर्न सक्ने सम्भावना छ भने इन्डोनेसिया र पलाउका केही तटमा ३० सेन्टिमिटरदेखि १ मिटर अग्ला छाल आउन सक्ने उल्लेख गरिएको छ ।











