काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा वाईसीएलको टोली खटिएको छ । सरकारले सुरक्षाकर्मी फिर्ता गरेपछि वाईसीएलले उनको सुरक्षाको जिम्मेवारी लिएको हो ।

वाईसीएल अध्यक्ष पुष्प ओलीले प्रचण्डमाथि सम्भावित सुरक्षा खतरा महसुस गरी आवश्यक सङ्ख्यामा टोली परिचालन गरिएको जनाएका छन् । प्रचण्डको सुरक्षामा पूर्वलडाकु पृष्ठभूमिका व्यक्तिहरू रहेका छन् । उनीहरूलाई तीन तहको सुरक्षा घेरामा व्यवस्थित गरिएको छ ।
भित्री घेरामा विशेष तालिमप्राप्त पूर्वलडाकुहरू छन् भने बाहिरी घेरामा वाईसीएलको फिल्ड टोली खटिएको छ । तेस्रो टोलीले गोप्य सूचना संकलन गरी ‘इन्टेलिजेन्स’को भूमिका निर्वाह गर्छ ।
प्रचण्डको यात्रामा स्कर्टिङ आवश्यक परेमा केन्द्र र सम्बन्धित जिल्लाको वाईसीएल टिम खटिन्छ । माओवादीले १० वर्षको सशस्त्र सङ्घर्षपछि शान्ति प्रक्रियामा आएर पूर्वलडाकुहरूलाई समेट्दै वाईसीएल गठन गरेको थियो । तीमध्ये केही अहिले पनि लडाकु पृष्ठभूमिका छन् र प्रचण्डको सुरक्षामा सक्रिय छन् ।














