काठमाडौं । शनिवार राष्ट्रपति भवन शीतलनिवास अगाडि जेनजी युवाहरूले नाराबाजी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न नपाएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

राष्ट्रपति पौडेलले जेनजी युवाहरूसँग छलफल गर्न बैठक बोलाएका थिए । तर, शीतलनिवासभित्र प्रवेश गर्न नपाएका युवाहरूले बाहिर नाराबाजी गरेका हुन् । प्रदर्शनकारीहरूले ‘वास्तविक जेनजी’लाई बाहिर राखेर ‘हामी नेपाल’ संस्थाका सुदन गुरुङको टोलीलाई मात्र प्रवेश दिएको आरोप लगाए ।
जेनजी प्रतिनिधि इन्जिनियर प्रवेश लामाले जेनजी आन्दोलन सुदन गुरुङको टोलीले मात्र नगरेको बताएका छन् । राष्ट्रपति पौडेलले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि सहज वातावरण बनाउन सक्रियता देखाएका छन् । शुक्रवार उनले राजनीतिक दलहरू र प्रधानमन्त्रीसहित मन्त्रीहरूसँग छलफल गरेका थिए । जेनजी युवाहरूसँगको छलफल भने सोमबारसम्मका लागि स्थगित गरिएको छ ।














